सिमरामा अबोध बालिका रातिको समयमा बेवारिस अवस्थामा फेला

सिमरा । दशैंको टीकाको दिन बिहीबार राति जितपुरसिमरा उपमहानगरपालिका–७ मगर टोलमा करिब एक वर्षकी अबोध बालिका बेवारिस अवस्थामा फेला परेकी छन् ।

स्थानीयवासीले राति करिब ११ बजेतिर बस्तीको बीचमा, पुराना लुगासहितको झोलामा राखिएको बालिकालाई भेटेर तत्काल प्रहरीको समन्वयमा वडासदस्य सीता उप्रेतीको घरमा सुरक्षित राखेका हुन् । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

घटनाले स्थानीय क्षेत्रमा चासो र चिन्ता थपिएको छ । बालिकालाई कसले, किन, र कसरी मध्यरातमा एक्लै त्यस्तो अवस्थामा छोड्यो भन्ने विषयमा अनेक शंका र चर्चा भइरहेका छन् ।

इलाका प्रहरी कार्यालय, सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले घटनाको अनुसन्धान तीव्र पारिएको जानकारी दिए ।

‘हामीले रातिदेखि नै खोजी सुरु गरेका छौं,’ उनले भने, ‘बालिकाको आफन्त खोज्न बारा र पर्सा जिल्लामा हराएको उजुरी दर्ता भएको छ कि भनेर पनि बुझ्दैछौं ।’

घटनास्थल वरपर सुरक्षा सिसीटिभी क्यामरा नभएकोले बालिका त्यहाँसम्म कसरी आइन् भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन । तर संभावित मार्गमा रहेका क्यामराको फुटेज संकलन भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =