सरकारमा हुनेहरुको बुद्धि नपुगेकै कारण जेनजीको ज्यान गयो : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरुको बुद्धि नपुगेकै कारण जेन जी पुस्ताहरुको ज्यान गएको बताएकी छन् ।
विजया दशमीको दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन् । उनले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरुको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको बताइन् ।
राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिवद्धता जनाइन् । ‘दुःखद् घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जसकारणयो दुर्घटना भयो । बच्चाहरुले पढ्ने कसरी ? उहाँहरुको पढाइ, कामहरु दिनेगरी सोचिरहेका छौँ । उहाँहरुले मागेकै केही छैन । उहाँहरुको नोक्शान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मृतक तथा शहीद परिवारलाई प्रधानमन्त्रीको चाहनाअनुसार शहीद परिवारसँग समय बिताएको बताए । शहीदहरुको रगतमाथि अन्याय हुन नदिने र शहीदहरुको रगतले न्याय पाउने बताए ।
गत भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । साथै सयौँ मानिस घाईते भएका छन् ।
यस वर्ष पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री कार्कीले पनि सर्वसाधारणलाई दशैँको टीका लगाइदिइनन् । कार्कीले आफूले पनि जेनजी पुस्ताको मृत्युको शोकमा टीका ग्रहण गरिनन् ।








