क्यानले गर्यो सन्दीप लामिछानेलाई कारबाही

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासनको कारबाही गरेको छ ।
यही सेप्टेम्बर २७ देखि ३० सम्म युएईको सारजह मैदानमा पहिलोपटक आयोजना गरिएको नेपाल र वेस्ट इन्डिजबीचको टी–२० सिरिजका दौरान लामिछानेले खेल सुरु हुनुअघि मात्र नखेल्ने निर्णय लिएका कारण क्यानले उनलाई प्रतियोगिता अवधिभर निलम्बन गरेको हो ।
क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै लामिछानेको उक्त निर्णयले टिम म्यानेजमेन्ट, अन्य खेलाडी र समग्र नेपाली क्रिकेटमै गम्भीर असर परेको जनाएका छन् । टिम म्यानेजमेन्टको सिफारिसका आधारमा लामिछानेलाई सिरिजभरका लागि निलम्बन गरिएको क्यानले जनाएको छ ।
नेपालले सो सिरिजमा वेस्ट इन्डिजमाथि २–१ को ऐतिहासिक जित दर्ता गरेको थियो । यो नेपाली क्रिकेटको लागि ऐतिहासिक उपलब्धि मानिएको छ ।
क्यानका अनुसार नेपाली टोलीको आगामी लक्ष्य भने अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने ‘आईसीसी मेन्स टी–२० विश्वकप एसिया/इएपी फाइनल’ प्रतियोगिता हो । सो प्रतियोगिताबाट विजयी भई विश्वकप क्रिकेटमा छनोट हुने नेपाली क्रिकेटको लक्ष्य रहेको छ ।
सचिव खड्काद्वारा जारी विज्ञप्तिमा १६ सदस्यीय नेपाली टोली र अफिसियल युएईबाटै ओमान प्रस्थान गरिसकेको पनि उल्लेख गरिएको छ ।








