ओलीको राहदानी रोक्काप्रति एमालेले जनायो आपत्ति

काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गर्न गरिएको सिफारिसप्रति गम्भीर आपत्ति जनाएको छ ।

आइतबार भक्तपुरको गुण्डुमा बसेको केन्द्रीय सचिवालयको बैठकले उक्त सिफारिसलाई ‘राजनीतिक प्रतिशोध’को रूपमा व्याख्या गर्दै विरोध जनाएको हो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राहदानी रोक्का सिफारिसबारे गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए ।

‘अध्यक्ष ओलीसहितको राहदानी रोक्काका लागि सिफारिस गरिएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उपमहासचिव ज्ञवालीले भने, ‘यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गराएर अनि दसैंको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ।’

भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ ।

राहदानी रोक्का सिफारिसमा अध्यक्ष ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजालको नाम समावेश छ।

ज्ञवालीले आयोगको सिफारिसले स्वयं आयोगको विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको दाबी गरे । ‘यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको छ,’ उनले भने ।

एमालेले यो कदमलाई लोकतान्त्रिक मान्यताविपरीत र पूर्वप्रधानमन्त्रीप्रति गरिएको असम्वैधानिक व्यवहारको संज्ञा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =