जेलबाट भागेका कैदी देखिए खबर गर्नू : नेपाल प्रहरी

काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवा आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका कैदीबन्दीमध्ये ६ हजार जना अझै फरार रहेका छन् । नेपाल प्रहरीले दशैं, तिहार, छठलगायतका चाडपर्वको समयमा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएअनुसार, आन्दोलनका क्रममा भागेकामध्ये करिब ८ हजार कैदी फर्किएका छन् भने बाँकी ६ हजारको खोजी कार्य जारी छ । फरार कैदीहरूमा चोरी, डाकाजस्ता आपराधिक पृष्ठभूमि भएका र आफूमाथि लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भावना लिनसक्ने व्यक्तिहरू समेत रहेको प्रहरीले जनाएको छ ।

घिमिरेले भने, ‘भागेका कैदीहरूमा कोही चोर डाकाहरू पनि छन् । कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भावना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौं।  सुरक्षाका सन्दर्भमा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ ।’

प्रहरीले बदलाको भावना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिसकेको छ र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले प्रहरी निकै सचेत अवस्थामा रहेको प्रवक्ता घिमिरेले बताए । उनले आपराधिक मानसिकता भएका कैदीहरूबाट गाउँमा बदलाको भावना लिनसक्ने खतरा भएकाले प्रहरीले उच्च निगरानी गरिरहेको स्पष्ट पारे ।

कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीहरूलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ । कतिपय कैदीबन्दीहरूलाई भारत भाग्न लागेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी नेपाल फिर्ता गरिसकेको छ । यस्तै, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पनि केही कैदीहरूलाई पक्राउ गरेका छन् भने कतिपय आफैं कारागार फर्किएका छन् ।

प्रवक्ता घिमिरेले भागेका कैदीबन्दीहरूको खोजी अभियान जारी रहेको र उनीहरूका बारेमा कुनै पनि सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा जानकारी दिन आग्रह गरेका छन् । उनले फरार कैदीबन्दीहरू गलत गतिविधिमा संलग्न भएमा जुनसुकै समयमा पनि पक्राउ पर्ने चेतावनी दिएका छन् । यस घटनाले चाडपर्वको समयमा ग्रामीण तथा शहरी दुवै क्षेत्रमा सुरक्षा चुनौती बढाएको छ । प्रहरीले नागरिकहरूलाई सतर्क रहँदै कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =