पार्टीभित्रैबाट ‘मिडिया ट्रायल’ र चरित्र हत्या गरियो, भण्डाफोर गर्न नपरोस् : कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ डा. तोसिमा कार्कीले पार्टीभित्र आफूमाथि भएको आरोप, हल्ला र ‘धम्की’ प्रवृत्तिविरुद्ध कडा चेतावनी दिएकी छन् ।
उनले आफूमाथि गरिएको ‘मिडिया ट्रायल’ र चरित्र हत्या अभियानको भण्डाफोर गर्न बाध्य नपार्न आग्रह गरेकी छिन् ।
सामाजिक सञ्जालमा कार्कीले लेखेकी छन्, ‘पार्टीलाई थप सुदृढ, सफल र समयसापेक्ष रुपान्तरण गर्न जिम्मेवारपूर्वक उठाइएका विषयलाई ‘‘Get Out’ भन्दै Bully गर्ने र गर्न लगाउने, अनि त्यो हेरेर टुलुटुलु बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस् ।’
उनले पार्टी सुधार र विकासका लागि राखिएका सन्दर्भलाई तोडमोड गरेर अफवाह फैलाउने र भ्रम सिर्जना गर्ने अभियान चलाइएको बताइन् ।
तोसिमाले पार्टीभित्रै राखिएको चार बुँदे प्रस्तावलाई पार्टी बनाउने प्रस्ताव, सभापतिको विकल्प खोज्ने प्रयास भनेर अतिरञ्जित गरिएको आरोप लगाएकी छन् । ‘चार बुँदे पत्र राम्ररी अध्ययन नगरी त्यसलाई आधार बनाएर मलाई पार्टीबाट निकाल्नुपर्ने भन्दै मिडिया ट्रायल गर्ने प्रयास भयो,’ उनले भनिन् ।
हिम्मत छ भने खुला विशेष अधिवेशन गर
कार्कीले पार्टी नेतृत्वलाई चुनौती दिँदै लेखेकी छन्, ‘हिम्मत भए संस्थापनले खुला विशेष अधिवेशन गरोस् । पार्टी सभापतिकै आशीर्वादमा लाखौँ कार्यकर्ता र शुभेच्छुकको मत लिएर आएको छु, जिम्मेवारी सम्हाल्ने आँट छ मसँग ।’
उनी लेख्छिन्, ‘यही आन्दोलनमै पनि प्रहरीको गोलिबर्षाबीच हिँडेको मान्छे हो। तिमीहरुको प्रोपागान्डा र हेपाहा बोलीसँग रत्तिभर डराउँदिन ।’








