युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट आरजुले दिइन् राजीनामा

काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । हालै सम्पन्न अभिभावकहरूको बैठकमा उनको राजीनामाबारे औपचारिक जानकारी गराइएको हो ।

‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनुभएको जानकारी गराइएको छ’, एक अभिभावकले भने । उनका अनुसार राणाले काठमाडौं र ललितपुर दुवै शाखाबाट राजीनामा दिएकी हुन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी हुँदा विद्यालयको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो । त्यसलगत्तै सामाजिक सञ्जालमा युलेन्स स्कुललाई आरजु राणाको निजी लगानीमा सञ्चालित भन्ने अफवाह फैलिएको थियो । यद्यपि, विद्यालय पक्षले यस्तो दाबी गलत भएको स्पष्ट पार्दै पटक–पटक खण्डन गर्दै आएको छ ।

युलेन्स स्कुल नाफा नकमाउने युलेन्स एजुकेशन फाउन्डेसनद्वारा सञ्चालित संस्था हो । आरजु राणा फाउन्डेशनको ट्रस्टी नभई व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन् । उनको स्कुलमा कुनै लगानी नरहेको र उनले कुनै आर्थिक लाभ पनि नलिएको विद्यालयले प्रष्ट पारेको छ ।

अफवाहको सिकार बन्यो युलेन्स

२४ भदौको आन्दोलनमा युलेन्स स्कुल अफवाहको सिकार बनेको विद्यालय प्रशासनको भनाइ छ । विद्यालयले विज्ञप्ति जारी गर्दै शिक्षा ऐनअनुसार आरजु राणालाई व्यवस्थापन समितिमा नियुक्त गरिएको प्रष्ट पारेको छ ।

‘डा. देउवाले यो दुष्प्रचारको पटकपटक खण्डन गर्नुभयो, तर सञ्चारजगत्, नागरिक समाज, तालुकदार निकाय, समुदाय सबैले यो अफवाहको तेज यात्रालाई देखेर पनि नदेखेझैं गरे,’ युलेन्सले विज्ञप्तिमा भनेको छ । ‘जस–जसले युलेन्सविरुद्ध भ्रम, अफवाह र दुष्प्रचार फैलाए, ती सबैलाई हाम्रो चुनौती छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =