स्कार्पियोको ठक्करबाट बाइकमा सवार दुई युवकको मृत्यु

जनकपुरधाम । सर्लाहीमा शुक्रबार राति भएको एक दुखद सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । ब्रहम्पुरी गाउँपालिका-५ स्थित हुलाकी सडक खण्डमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा यो घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार, मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही ब्रहम्पुरी गाउँपालिका-२ निवासी २३ वर्षीय अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार २५ वर्षीय रोहित सहनी रहेका छन् ।
राती करिब ८ बजेको समयमा पर्साबाट भेल्ही जाँदै गरेको एम.एच. ०४ डी.जे. १२९७ नम्बरको स्कार्पियोले विपरीत दिशाबाट आइरहेको प्र.३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै गम्भीर चोट लागेको थियो भने एक जना सामान्य घाइते भएका थिए । घटनापछि स्कार्पियो चालक फरार भएका छन् । प्रहरीले स्कार्पियोलाई नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी कार्य तीव्र पारिएको डीएसपी राईले जानकारी दिए ।








