नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज विश्व क्रिकेटको पावरहाउस वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल खेल्दैछ । यूएईको दुबईस्थित सारजहा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८:१५ बजे यो बहुप्रतिक्षित भिडन्त सुरु हुनेछ ।
विश्व विजेता वेस्ट इन्डिजविरुद्धको यो सिरिज नेपाली क्रिकेटका लागि एउटा स्वर्णिम अवसर हो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले सिरिज जित्ने दाबी गरेका छन् । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपाली टोली यूएई पुगेको छ र टोलीमा साहब आलम तथा सन्दीप जोरासहितका युवा प्रतिभाहरू पनि समेटिएका छन् ।
कप्तान पौडेलले सिरिज जित्ने आफ्नो टोलीको लक्ष्य रहेको स्पष्ट पारेका छन् । ‘यो सिरिज जित्न हामी यूएई आएका हौँ,’ उनले भने । यस किसिमको उच्च प्रोफाइल सिरिजले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्नेछ । सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते खेलिनेछन् ।
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टोली:
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम ।
नेपालसँग खेल्ने वेस्ट इन्डिज टोली:
अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर ।








