सरकारको चेतावनी- मापदण्ड विपरीतका होटलमाथि कडा कारबाही हुन्छ

काठमाडौँ । सरकारले मापदण्ड विपरीत सञ्चालनमा आएका होटल तथा रेष्टुरेण्टहरुमाथि कारबाही गर्ने भएको छ ।
शुक्रवार काठमाडौँको अनामनगरस्थित होटल तथा रेष्टुरेण्टमा अनुगमनका लागि पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकारीहरूले मापदण्ड विपरीत चलेका होटल तथा रेष्टुरेण्टहरुले आफूलाई १, २ दिनभित्र सुधार नगरे कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनीहरूले अनुगमनको क्रममा मापदण्ड विपरीत खाद्य भण्डार गरेको, सरसफाइमा कमी रहेको औँल्याउँदै तत्काल सुधार गरेर २ दिनभित्र विभागमा उपस्थित हुन पनि होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूलाई निर्देशन दिएका थिए । मापदण्ड विपरीत चल्ने कुनैपनि होटल तथा रेष्टुरेण्टहरुलाई कडा कारबाही गर्ने गरी अनुगमनको कामलाई अघि बढाइएको विभागका खाद्य निरीक्षण अधिकारी सरोज पौडेलले बताए ।
उनले अनुगमनको क्रममा किचनमा सफाइको कमी देखिएको, खाद्य भण्डारणमा पनि समस्या देखिएको पाइएको उल्लेख गरे ।
खाद्य निरीक्षण अधिकारी पौडेलले भने ‘सामान्यतया किचनको सरसफाइ सन्तोषजनक अवस्थामा नरहेको पायौँ । उहाँहरूले गर्नुभएको सरसफाइको अभ्यास र हाईजिन र सेनिटेशन मेन्टेनका लागि उहाँहरूले गर्नुभएको प्राक्टिसहरू अपर्याप्त भएको अनुभव गरेका छौँ । यो किचनमा देखिएको कमी सुधार गर्नुस् भनेर निर्देशनसहित जानकारीमूलक कुराहरू गरेका छौँ । अव अर्को पटक आउँदा पनि यस्तो खालको अवस्था देखियो भने कारबाही हुन्छ भनेर सम्झाउने काम पनि भयो । मापदण्डअनुसार खानाहरूको भण्डारण गर्नुस्, कमी सुधार गरेर २ देखि ३ दिन भित्र कार्यालय उपस्थित हुनु भनेर निर्देशन दिएर हामी गएका छौँ । आउनु भएन भने हामी फलोअप गरेर कारबाहीको प्रक्रियामा जान्छौँ ।’
सरकारले दसैँ, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर हरेक वर्ष अनुगमनको कामलाई तीव्रता दिने गरेको छ ।








