असोजभित्रै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको अनलाइन प्रणालीमार्फत दर्ता अभिलेखीकरण सुरु हुने

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि आफ्नो छुट्टै सफ्टवेयर निर्माण गरेको छ ।
उक्त सफ्टवेयरमार्फत नै आश्विन महिनाभित्र सहकारी दर्ता प्रक्रियाको थालनी गर्ने बताइएको हो ।
सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भई लञ्च गर्ने तयारी भइरहेको पनि प्राधिकरणले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बताए ।
उनले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरिवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने काम प्राधिकरणले गर्ने बताए । उनले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड जारी गर्ने पनि बताए ।
उनले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सञ्चालन सम्बन्धमा जारी गरेको नियामकिय मापदण्ड, २०८२ लागू भई कार्यान्वयनको चरणमा रहेको बताए । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी गरिएको बताए।
त्यस्तै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको साधारण सभा सञ्चालन सम्बन्धी निर्देशन जारी भई कार्यान्वयनको चरणमा रहेको बताए । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको सघन अनुगमन सुरु भएको जानकारी दिए । सहकारी ऐन, २०७४ लाई स्पष्ट पार्नुपर्ने कतिपय विषयहरूको सन्दर्भमा मन्त्रालयले सहकारी नियमावली, २०७५ संशोधन तयारी गरिरहेको र प्राधिकरणको तर्फबाट पनि आवश्यक गृहकार्य भइरहेको बताए ।
असोज महिनादेखि ऐनको व्यवस्थाअनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी, संघ संस्थाको अनलाइन प्रणालीमार्फत दर्ता अभिलेखीकरण सुरु गरिने बताए । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई प्राधिकरणले दर्ता अभिलेखीकरणका लागि आह्वान गरेको ६० दिनभित्र आवश्यक विद्युतीय प्रणालीमा प्रविष्ट गराइ रुजु पश्चात् प्रक्रिया पूरा गरी दर्ता प्रमाणपत्र उपलब्ध गराइने जानकारी दिए ।








