जेनजीले व्यवस्थाको रक्षाका लागि आन्दोलन गरेका थिएनन्, देशी–विदेशी शक्तिहरूले हाइज्याक गरे : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताको आन्दोलन देशी र विदेशी शक्तिहरूले हाइज्याक गरेको गम्भीर आरोप लगाएका छन् ।
बिहीबार काठमाडौँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जी पुस्ताले संविधान र व्यवस्थाको रक्षाका लागि आन्दोलन नगरेको भएपनि देशी–विदेशी शक्तिहरूले हस्तक्षेप गरेको आरोप लगाएका हुन् ।
उनले युवाहरूले भ्रष्टाचार र कुशासनको अन्त्यका लागि आन्दोलन गरिएको भएपनि वर्तमान व्यवस्थामा भ्रष्टाचार र कुशासनको अन्त्य गर्न असम्भव रहेको बताए ।
के यही व्यवस्थामा रहेर मुलुकमा भ्रष्टाचार र कुशासन अन्त्य गर्न सकिन्छ ? उनको प्रश्न छ । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमा गरेको अभिव्यक्तिले पनि युवा आन्दोलन हाइज्याक भएको प्रमाणित भएको टिप्पणी गरे ।
उनले अहिलेकै संवैधानिक व्यवस्था, शासकीय प्रणाली र निर्वाचन प्रणालीमार्फत अघि बढे जेनजी आन्दोलनको कुनै अर्थ नरहने जिकिर गरे । भ्रष्टाचारको मूल जडको रूपमा रहेको संविधान र व्यवस्थालाई यथावत् राखेर जनतालाई धोका दिन थालिएको उनको टिप्पणी छ । उनले संवैधानिक अङ्गमा भइरहेको राजनीतिक नियुक्ति भ्रष्टाचारको मुख्य कारण भएको पनि उल्लेख गरे ।
उनले भने ‘जेनजी युवाहरू यथास्थितिको निरन्तरता र संविधानको रक्षाका लागि आन्दोलन गरेका होइनन् । उनीहरूको कुनै विशेष एजेण्डा नभए पनि भ्रष्टाचारको अन्त्य भनेका थिए नि । के यही व्यवस्थामा रहेर मुलुकमा भ्रष्टाचार र कुशासन अन्त्य गर्न सकिन्छ त ? मुलुकका संवैधानिक अङ्गलाई याथिस्थितमा राखेर आन्दोलनलाई हाईज्याक गर्ने काम गर्यो । देशी, विदेशी शक्तिहरूको सहयोगमा युवाहरूको आन्दोलनलाई हाइज्याक गर्ने काम गरियो । माओवादी अध्यक्ष प्रचण्डले व्यवस्था जोगाएँ भन्नुभयो । यो नै आन्दोलन हाइज्याकको प्रमाण हो । अहिलेकै राज्य संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र संवैधानिक आयोग राखेर गर्ने भनिएको चुनावको कुनै अर्थ छैन । भ्रष्टाचारको मूल कारणलाई यथावत् राखेर नेपाली जनतालाई धोका दिने षड्यन्त्र भएको छ । यति धेरैले सहादत र ठुलो धनको क्षति भएर जुन ढोका खुलेको थियो । त्यसलाई बन्द गर्ने जजसले काम गरेका छन् । उनीहरूले जनताको कठघरामा उभिनुपर्नेछ । यही व्यवस्थामा निर्वाचन गरिए आन्दोलन अधुरो ठहरिनेछ । र त्यहीबाट फेरी सुरु हुनेछ । यही निर्वाचन प्रणालीबाट चुनाव हुँदा पुरानै पार्टी र केही नयाँ आउलान् । तर कसैले पनि सरकार बनाउनेगरी बहुमत बनाउन सक्दैनन् । र ती लुटेरा पार्टीहरू र नौटंकीहरुले अप्राकृतिक गठबन्धन बनाएर अराजकता गर्ने बाहेक के हुनसक्छ ? अहिले बालेनले पार्टी खोल्छ र ठुलो पार्टी हुन्छ भनेर हल्ला गर्छन् । तर उनले खोलेको पार्टी काँग्रेस र एमालेसँगै गठबन्धन गर्नुपर्छ । त्यसको के काम रु अहिले संवैधानिक अङ्गहरूमा भइरहेको राजनीतिक नियुक्तिले गर्दा मुलुकमा भ्रष्टाचार भएको छ । यो व्यवस्थालाई यथावत् कायम राख्ने हो भने भोलि निर्वाचित भएर आउने पार्टीले आफ्नो कार्यकर्तालाई नियुक्ति गर्दैन भन्ने ग्यारेन्टी कसले लिन्छ । त्यसकारण युवाहरूको आन्दोलन हाइज्याक भयो । यथास्थितिलाई कायम राखेर निर्वाचन भएको खण्डमा देशमा थप खराब स्थिति आउनसक्छ ।’
उनले मुलुकलाई निकास दिनको लागि सबै प्रजातन्त्रवादी र राजावादीहरू एकजुट हुन आग्रह पनि गरे ।








