२०२७ सम्म सबै नेपालीमा विपद्जन्य पूर्वसूचना : महानिर्देशक जोशी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले सन् २०२७ सम्ममा सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्याउने लक्ष्य रहेको बताएका छन् ।
काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने कार्यक्रम दैनिक रूपमा गरिरहेको उनले बताए ।
विभाग, विश्व मौसम संगठन र कार्डबीच २०२७ सम्म सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्याउने कार्यको लागि सहायक भएको उनले जानकारी दिए ।
सोही सहकार्यअनुसार काम गरिरहेको उनको भनाई छ । उनले विभागले प्रवाह गर्ने पूर्वसूचना र मौसम पूर्वानुमान,बाढी पूर्वानुमानमा बुझाइमा एकरूपता ल्याउनुपर्ने आवश्यकता देखिएको पनि बताए । विभागको प्राविधिक भनाई र जनतामा प्रवाह हुने सूचनामा फरक पर्न जाँदा विभागमाथि प्रश्न उठ्ने गरेको उनले गुनासो गरे ।
उनले भने ‘विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने हाम्रो दैनिक कार्यक्रम हो । यो हामीले दैनिक रूपमा गरिरहेका छौँ । यही कार्यक्रम अन्तर्गत हामी विश्व मौसम संगठनको पनि सदस्य राष्ट्र भएको हिसाबले विपद्जन्य सूचना चाहिँ सबैमा पुग्नुपर्छ । २०२७ सम्मको टार्गेट चाहिँ अर्ली वार्मिङ फर अल भन्ने छ, त्यसमा सघाउ पु¥याउनको लागि विभाग, विश्व मौसम संगठन र कार्डबीच सहमति भएको छ ।’
महानिर्देशक जोशीले अझै एक हप्ता नेपालमा मनसुन रहने बताए ।








