यी ५ सडक पूर्ण रुपमा बन्द, ४ एकतर्फी सञ्चालन (सूचीसहित)

काठमाडौं । मनसुनी वर्षाको निरन्तरतासँगै आएका बाढी र पहिरोले देशका विभिन्न भागमा सडक सञ्जालमा गम्भीर अवरोध पुर्याएको छ । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ वटा प्रमुख सडकखण्ड पूर्ण रुपमा बन्द भएका छन् भने ४ वटा खण्डमा एकतर्फी मात्र यातायात सञ्चालनमा छ । यसले गर्दा दशैं नजिकिँदै गर्दा यात्रुहरू र सामान ढुवानीमा ठूलो समस्या उत्पन्न भएको छ ।
कोशी प्रदेश अन्तर्गत संखुवासभा जिल्लाको कोशी राजमार्ग अन्तर्गत भोटखोला गाउँपालिका-४, बरुण र मकालु गाउँपालिका-३, एकुवामा सडक पूर्ण रुपमा अवरुद्ध छ । अविरल वर्षाका कारण यी खण्डहरूमा यातायात पूर्ण रुपमा ठप्प भएको हो । त्यस्तै, बागमती प्रदेशमा पनि अवस्था जटिल बनेको छ । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-२ स्थित नेपाल र चीन जोड्ने पुल बाढीका कारण अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ । यो सडक राजधानीलाई देशको पश्चिमी भागसँग जोड्ने प्रमुख मार्ग भएकाले यसको अवरोधले देशभरकै यातायात प्रभावित भएको छ । लुम्बिनी प्रदेशमा पनि मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका-४, काँडाबगरमा पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध बनाएको छ ।
बागमती प्रदेशकै रसुवाको उत्तरगया गाउँपालिका-५, नौबिसे र इच्छाकामना गाउँपालिका-०५, गल्छी त्रिशुलीदेखि मैलुङ स्याफ्रु सडक खण्डमा एकतर्फी यातायात सञ्चालनमा छ । गण्डकी प्रदेशमा पनि बागलुङको कालिगण्डकी करिडोर अन्तर्गत बागलुङ नगरपालिका-१३, कोलारखोलामा पहिरोका कारण एकतर्फी मात्र सडक खुलेको छ ।
नवलपरासी पूर्वको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२, विश्वकर्मा मन्दिर र विनयी त्रिवेणी गाउँपालिका-३, पैंसेमोडमा अविरल वर्षाले सडक एकतर्फी बनाएको छ । यस वर्षको मनसुनले पहाडी क्षेत्रमा बढी क्षति पुर्याएको देखिन्छ, जसका कारण मुख्य राजमार्गहरू पटक पटक अवरुद्ध भइरहेका छन् ।
सडक विभाग र सुरक्षा निकायहरू सडक खुलाउने प्रयासमा जुटेका छन्, तर लगातारको वर्षाले उद्धार कार्यमा समेत कठिनाइ भइरहेको छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरिएको छ ।









