मंसिरमा महाधिवेशन या विस्तारित बैठक गरौं : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टीभित्र रुपान्तरणको आवश्यकता औंल्याउँदै केन्द्रीय समितिको बैठकमा दुईवटा विकल्प प्रस्ताव गरेका छन् । उनले मंसिरमा महाधिवेशन वा विस्तारित बैठक गर्ने प्रस्ताव गरेका हुन् ।
परियारका अनुसार पार्टीभित्र जारी अन्योल र बदलिँदो राजनीतिक परिस्थितिमा अब निर्णय लिन ढिलो गर्नु हुँदैन । ‘अब बदलिँदो परिस्थितिमा महाधिवेशनलाई अगाडि सारौं, मंसिरमै गर्न सक्छौं,’ परियारले भने, ‘महाधिवेशन गर्ने हो भने अहिलेका सबै समिति भंग गरी केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरौं ।’
उनले आगामी फागुन ७, ८ र ९ गतेका लागि पहिले नै तय भएको महाधिवेशनको मिति स्मरण गराउँदै त्योभन्दा अघि नै महाधिवेशन गरेर पार्टीलाई स्पष्ट कार्यदिशासहित आगामी चुनावमा लैजानुपर्ने धारणा राखे ।
केन्द्रीय समितिको बैठकमा परियारले संविधानमाथि गम्भीर प्रश्न उठाएका छन् । ‘आज हामीसँग भएको संविधानमाथि हस्तक्षेप भएको छ,’ उनले भने, ‘राजनीतिक दलभन्दा राजनीति अन्तै गइसकेको छ ।’
उनका अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको वर्तमान सरकार संविधानको धारा ७६ अन्तर्गत नभई, राष्ट्रपतिको अधिकार प्रयोग गरेर गठन गरिएको हो । यस्तो सरकारले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर संविधानमै आघात पु¥याएको उनको भनाइ छ ।
परियारले भदौ २४ गतेको आन्दोलन र त्यसपछि नख्खु कारागारमा भएको घटनाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे ।
‘हामीसँग यावत प्रश्न छन्, त्यो प्रश्नको जवाफ दिनु पर्छ,’ उनले भने, ‘के भएको थियो ? सत्य तथ्य जनतालाई बताउनुपर्छ ।’








