चालक र यात्रुलाई कुलमानको आग्रह- सुरक्षित यात्रा गर्नुस्, तपाईँको जीवन राष्ट्रको अमूल्य सम्पत्ति हो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सम्पूर्ण चालक तथा यात्रुहरूलाई सुरक्षित यात्राका लागि विशेष अपिल गरेका छन् । नेपालीहरूको महान् चाड दशैं लागेसँगै यात्रामा निस्कनेहरूको संख्या बढिरहेका बेला मन्त्री घिसिङले यस्तो आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले ‘तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो’ भन्दै दशैं मनाउन घर फर्किने वा यात्रामा निस्कने सबैलाई हतार नगरी, सजग भई र नियमको पालना गर्दै यात्रा गर्न अनुरोध गरेका छन् । मन्त्री घिसिङले चालक साथीहरूलाई विशेष आग्रह गर्दै गति नियन्त्रणमा राख्न, मदिरा सेवनपछि सवारी नचलाउन र पर्याप्त आराम गरेर मात्र यात्रामा निस्कन सुझाव दिएका छन् । यसैगरी, यात्रुहरूलाई पनि आफ्नो परिवारसँग सुरक्षित गन्तव्यमा पुग्न आग्रह गर्दै उनले क्षमताभन्दा बढी यात्रु नराख्न र चालकलाई शान्त तथा सुरक्षित यात्राका लागि प्रोत्साहन गर्न अनुरोध गरेका छन् ।

यात्राका क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाउनुपर्नेमा जोड दिँदै मन्त्री घिसिङले दशैंमा केवल गन्तव्यमा पुग्नु मात्र उद्देश्य नभई सुरक्षित र खुसीसाथ पुग्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन् । उनले ‘सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुसी हो, र परिवारको खुसी नै हाम्रो राष्ट्रको शक्ति हो’ भन्दै सबैलाई सुरक्षित यात्राका साथ दशैंको शुभकामना व्यक्त गरेका छन् ।

सुरक्षित यात्राका लागि केही महत्त्वपूर्ण टिप्स:

  • चालकका लागि:

    • गति सीमितताको पालना गर्नुहोस् ।

    • मदिरा वा अन्य नशालु पदार्थ सेवन गरी सवारी नचलाउनुहोस् ।

    • थकाइ लाग्दा आराम गर्नुहोस् र पर्याप्त निद्रा पुर्‍याएर मात्र ड्राइभिङ गर्नुहोस् ।

    • सवारी साधनको नियमित जाँच गर्नुहोस् ।

  • यात्रुका लागि:

    • क्षमताभन्दा बढी यात्रु भएको सवारीमा यात्रा नगर्नुहोस् ।

    • चालकलाई तीव्र गतिमा चलाउन वा लापरबाही गर्न दबाब नदिनुहोस् ।

    • सिट बेल्ट वा हेल्मेटको प्रयोग अनिवार्य गर्नुहोस् ।

    • कुनै समस्या देखिएमा तत्काल प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =