कम्प्युटर शिक्षक अनिवार्य, ढिला गर्नेलाई अनुदान रोक्का, कीर्तिपुर क्याम्पस सफाइ अभियान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमा आज केही ठोस निर्णयहरू सार्वजनिक गरेका छन् ।
उनले तीन साना तर महत्वपुर्ण कदमहरु तुरुन्त अगाडि बढाउन निर्देशन दिएका छन् । उनका अनुसार यी साना तर प्रभावकारी कदमहरूले शिक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्नेछन् ।
१. सबै सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक अनिवार्य
मन्त्री पुनले देशभरका सामुदायिक माध्यमिक विद्यालयहरूमा पढ्ने विद्यार्थीहरू सूचना प्रविधिबाट पछाडि नपुन् भन्ने उद्देश्यले प्रत्येक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रुपमा थप गर्नुपर्ने निर्णय गरेका छन् । उनका अनुसार यस्तो व्यवस्था भएमा डिजिटल शिक्षामा पहुँच बढ्नेछ ।
२. ढिला गर्नेलाई कारबाही : ३ महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन
केही विश्वविद्यालयहरूले परीक्षा सम्पन्न गरेपछि परीक्षाफल प्रकाशित गर्न ८ महिनादेखि १ वर्षसम्म समय लिने गरेको तथ्य सार्वजनिक गर्दै मन्त्री पुनले यस्तो कार्यशैली विद्यार्थीका लागि अपूरणीय क्षति भएको बताए ।
त्यसकारण अबदेखि विश्वविद्यालयहरूले परीक्षाफल बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ । तोकिएको समयसीमाभित्र नतिजा ननिकालेमा तिनका लागि आउने सरकारी अनुदान रोक्का गरिने उनले चेतावनी दिए । पुनले उदाहरण दिँदै भने, ‘राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा सहभागी भएका करिब ५ लाख विद्यार्थीको नतिजा ३ महिनाभित्रै निकाल्न सकेको छ भने अन्य विश्वविद्यालयले किन नसक्ने ?’
३. त्रिवि कीर्तिपुर परिसर सफा गर्दै आकर्षक बनाइने
मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरभित्रको झाडी तथा फोहोर सफा गरी उक्त स्थानलाई आकर्षक बनाउने अभियान सुरु गर्न निर्देशन दिएका छन् ।
उनका अनुसार, ‘झाडी फाँड्ने, तर ठूला रुख नकट्ने’ भन्ने सर्तसहित कीर्तिपुर क्याम्पसको हरियाली क्षेत्रलाई सुन्दर बगैचा र फुटपाथसहितको रमणीय स्थल बनाइनेछ ।








