कांग्रेसमा देउवालाई हटाउन हस्ताक्षर अभियान, तर देउवा मान्न तयार छैनन्

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको छ । पार्टीभित्रको असन्तुष्टि चुलिंदै जाँदा सोमबारदेखि विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन सुरु गरिएको हो ।
शेखर कोइराला र गगन थापा समूहको अगुवाइमा सुरु गरिएको अभियानमा सोमबार १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । प्रारम्भिक चरणमा केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको हस्ताक्षर भने भइसकेको छैन ।
अभियानलाई जिल्ला–जिल्ला र प्रतिनिधिसभा क्षेत्र–क्षेत्रसम्म विस्तार गर्ने तयारी शेखर र गगन समूहले गरेको छ । उनीहरूका अनुसार विशेष महाधिवेशन पार्टी रूपान्तरण र नयाँ नेतृत्व चयनका लागि आवश्यक छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हालैको केन्द्रीय कार्यसम्पादन समितिमा विशेष वा नियमित महाधिवेशनको प्रस्ताव राख्दा सभापति शेरबहादुर देउवा पक्षबाट तीव्र विरोध भएको थियो ।
कांग्रेस विधानको धारा १७ (२) अनुसार केन्द्रीय सदस्य वा महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्नेछ ।
२०७८ सालमा सम्पन्न महाधिवेशनमा ४७४३ प्रतिनिधि सहभागी थिए, जसको ४० प्रतिशत करिब १८९७ जना हो ।
देउवा पक्ष रक्षात्मक, ‘ग्रेसफुल एक्जिट’ को चर्चा
सभापति देउवा अहिले सैनिक अस्पतालमा उपचाररत छन् । भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका देउवाले नेताहरूलाई ‘असजिलो परिस्थितिमा सहयोग गर्न’ आग्रह गर्दै आएका छन् ।
यता शेखर–गगन समूहका नेताहरू भने सभापति देउवाले ‘ग्रेसफुल एक्जिट’ लिनुपर्ने बताएका छन् । लुम्बिनी प्रदेशसभा सदस्य तथा प्यूठानकी प्रतिनिधि निमा गिरीले नेतृत्व परिवर्तनको पक्षमा बहुसंख्यक आवाज उठिसकेको बताइन् ।
‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेपछि विशेष महाधिवेशन बोलाउनु नैपर्छ। त्यो महाधिवेशनले नीति र नेतृत्व दुवै तय गर्नेछ,’ गिरीले भनिन् ।
पार्टीभित्र अहिले विशेष महाधिवेशन गर्ने कि कार्यकाल सकिएपछि नियमित महाधिवेशन गर्ने भन्ने बहस चलिरहेको छ । महाधिवेशन प्रतिनिधि भूपेन्द्रजंग शाहीले मंसिरमा कार्यकाल सकिने भएकाले नियमित महाधिवेशन नै उपयुक्त हुने धारणा राखेका छन् ।
नेता शेखर कोइरालाले पनि के गर्ने भन्नेबारे केन्द्रीय समिति बैठक बसेर साझा धारणा बनाउनुपर्नेमा जोड दिएका छन् ।
देउवा पक्षको रणनीतिः कार्यकाल थप्ने गृहकार्य
सभापति देउवा पक्षले विशेष महाधिवेशन टार्ने र कार्यकाल एक वर्ष थप्ने गृहकार्य थालेको बताइएको छ । त्यसअनुसार फागुनको प्रतिनिधिसभा चुनावसम्म नेतृत्व यथावत राख्ने तयारी छ ।
‘फागुन २१ को चुनावसम्म देउवा सभापति रहने र टिकट वितरणदेखि पार्टी सञ्चालनसम्म नियन्त्रण कायम राख्ने रणनीति बनिरहेको छ,’ कांग्रेस स्रोतले भन्यो ।
यसैले गर्दा शेखर–गगन समूह अब हस्ताक्षर संकलनमार्फत विधानमै टेकेर विशेष महाधिवेशनको दबाब दिन थालेका छन् ।








