एक खुट्टाले नाचेर छुट्टै पहिचान बनाएकी सीता सुवेदीको निधन

काठमाडौं । नेपाली शास्त्रीय नृत्यकर्मी  सीता सुवेदीको निधन भएको छ । बोन म्यारो क्यान्सरका कारण एक खुट्टा गुमाए पनि नृत्यप्रतिको अदम्य साहस र साधनाले छुट्टै पहिचान बनाउन सफल सुवेदीको मंगलबार बिहान निधन भएको हो ।

तीन महिनादेखि फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनले बिहान त्रिवि शिक्षण अस्पतालमा अन्तिम सास फेरेको उनको परिवारले जानकारी दिएको छ । चितवनको मेघौलीमा जन्मिएकी सीता सुवेदीको जीवन आफैँमा प्रेरणाको स्रोत थियो । १२ वर्षको कलिलो उमेरमा नै उनले बोन म्यारो क्यान्सरका कारण आफ्नो एउटा खुट्टा गुमाउनुपरेको थियो । शारीरिक चुनौतीले उनको मनोबललाई कहिल्यै कमजोर बनाउन सकेन । बरु, उनले यही चुनौतीलाई आफ्नो शक्तिका रूपमा परिणत गरिन् र एउटै खुट्टाले शास्त्रीय नृत्यमा आफूलाई स्थापित गरिन् ।

सीताले आफ्नो अद्वितीय प्रतिभाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएकी थिइन् । उनले परम्परागत शास्त्रीय नृत्यलाई नयाँ आयाम दिँदै धेरैका लागि प्रेरणाको स्रोत बनेकी थिइन् । उनको अनुपम कला, संघर्षशील जीवन र नृत्यप्रतिको अगाध प्रेम सधैँ स्मरणीय रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =