झलनाथ खनालकी पत्नी रविलक्ष्मीलाई थप उपचारका लागि भारत लगिने

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनको स्वास्थ्य स्थितिको बारेमा जानकारी दिने परिवारका एक सदस्यले भने ‘चित्रकारलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिन लागेको हो ।’ उनकाअनुसार, चित्रकारका छोराअर्थात निर्भिक पनि साथमा भारत जाने तयारीमा छन् ।
यसअघि, आगजनीका कारण चित्रकारको बायाँ हातमा गम्भीर चोट पुगेको थियो र उपचारका क्रममा उक्त हात काट्न परेको थियो ।
अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईले भने, ‘अब चित्रकारको ज्यान खतरामा छैन, तर निमोनिया भने निको हुनका लागि समय लाग्नेछ ।’
चित्रकारको फोक्सोमा अत्यधिक धुवाँ पुगेको र यसले उनलाई निमोनिया निम्त्याएको डा. राईले बताए । ‘उहाँको फोक्सोमा धेरै ग्यास पुगेको थियो। हामीले मेसिनको प्रयोग गरेर त्यो ग्याँस निकाल्यौं,’ डा. राईले थपे ।
चित्रकारको स्वास्थ्यमा सुधार देखिएको भए पनि निमोनिया चाँडो निको गराउनका लागि परिवारका सल्लाहमा भारत लान लागिएको बताइएको छ ।
डा.राईका अनुसार, चित्रकारको शरीरमा १५ प्रतिशत जलन भएको छ, जसका कारण उनको उपचारमा थप समय लाग्ने अपेक्षा गरिएको छ ।









