डा.सुनिल शर्माको चेतावनीः ‘समयमै सुधार नभए अझ ठूलो विद्रोह निश्चित छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले हालको राजनीतिक अवस्थाप्रति गम्भीर असन्तोष जनाउँदै भविष्यमा झनै भीषण आन्दोलनको चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक स्टाटसमार्फत उनले राजनीतिक दलहरू र नेताहरूले समयमै आत्मसमिक्षा नगरे ठूलो जनविद्रोह अवश्यंभावी हुने स्पष्ट पारेका छन् ।
नेता शर्माले जनयुद्ध, जनआन्दोलन र जेन्जी आन्दोलनका उपलब्धिहरूलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । उनका अनुसार, यदि दलहरू अझै पनि आफ्ना गल्ती नसच्याई सत्ता केन्द्रित सोचमै रुमल्लिरहे, त्यसको परिणाम भयानक हुन सक्छ ।
‘यस पटक जेन्जी आन्दोलनमा नेताहरू कुटिए मात्र, तर भविष्यको त्यो अवस्थामा नेताहरू खोजी खोजी पासविक रूपमा मारिने छन्,’ शर्माले भनेका छन् ।
उनले यस्तो अवस्था आउन नदिन वर्तमान राजनीतिले आम जनताको न्यूनतम अपेक्षालाई सम्बोधन गर्नैपर्ने आवश्यकता औंल्याएका छन् । उनले सबै राजनीतिक दल र नेताहरूमाथि बेलैमा आत्मसमीक्षा गर्न र जनता र मुलुकको हितमा गम्भीरतापूर्वक सोच्न आह्वान गरेका छन् ।
शर्माद्वारा प्रस्तावित सुधारका बुँदाहरूः
प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणाली लागू गर्नुपर्ने ।
कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्नुपर्ने ।
सांसद पदमा पनि एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी नहुनु पर्ने र दुई कार्यकालबीच अन्तराल अनिवार्य गर्नुपर्ने ।
पार्टी सभापति÷अध्यक्ष पनि दुई कार्यकालसम्म सीमित हुनु पर्ने ।
प्रत्येक ४ वर्षमा अनिवार्य पार्टी महाधिवेशन हुनु पर्ने ।
न्यायपालिकामा राजनीतिक हस्तक्षेप अन्त्य गर्दै लोकसेवा आयोगजस्ता स्वतन्त्र निकायबाट न्यायाधीश नियुक्त गर्ने व्यवस्था ।
विदेशमा रहेका नेपालीहरूलाई (एनआरएन) राजनीतिक अधिकार बाहेक अन्य सम्पूर्ण अधिकार सुनिश्चित गर्ने ।
आर्थिक रूपमा कमजोर अभिभावकलाई १% व्याजदरमा शिक्षा ऋण उपलब्ध गराउने व्यवस्था ।
१० लाखसम्मको निशुल्क स्वास्थ्य बीमा व्यवस्था गर्नुपर्ने ।








