विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र अवरुद्ध सडक खुल्छ: सचिव शर्मा

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरू विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताएका छन् ।
शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा उहाँले चाडपर्वमा यातायात सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको जानकारी दिएका हुन् ।
हाल मौसमका कारण सडक अवरुद्ध भएको उल्लेख गर्नुहुँदै उहाँले सडक खुलाउन मन्त्रालय र सडक विभागको टिम सक्रिय रहेको बताए । उनले पृथ्वी राजमार्ग र मुग्लिङ खण्डको तुइन खोलामा रातिदेखि सडकको काम रोकिएको बताए । उनले उक्त स्थानमा बिहान सुख्खा पहिरो समेत खसेको बताए ।
पहिरो सक्रिय अवस्थामा रहेको बेलामा भने काम गर्न नसकिने उनको भनाई छ । उनले सो स्थानमा पहिरो सफा गर्न सडक विभागको टोली पुगिसकेको जानकारी दिए । सडक सफा गर्न सुरु गरेको ४ घण्टामा सो सडक खुल्ने उनको दाबी छ । उनले सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी मेसिन राखेको पनि जानकारी दिए ।
उनले भने ‘अहिले मुख्य कुरा पृथ्वी राजमार्ग र मुग्लिङ नाराणघाट सडकमा हिजोदेखि तुइन खोला भन्ने ठाउँमा हिजो राती चाहिँ हामीले रोकेको हो । राती त्यो ढुङ्गा खस्यो, एक्टिभ छ के पहिरो खसेको खस्यै गरेपछि मेसिनको अपरेटरहरूलाई ढुङ्गा आएर लाग्यो भने अरु समस्या हुन्छ, भनेर रोकेको हो । बिहान फेरि त्यहाँ सुख्खा पहिरो टाइपको खस्यो । अब एकदमै सक्रिय पहिरो भइरहेको बेलामा चाहिँ जानु हुँदैन । त्यहाँ जति सफा गरेपनि पहिरो झरिरहन्छ । सडक विभागले आधि घण्टादेखि एक घण्टासम्म त्यो ठाउँमा मेसिन पुग्ने, हाम्रो एलटमेन्ट त्यसैगरि छ । हाम्रो ईक्वीमेन्टहरु चाहिँ हाइवेको सम्पूर्ण ठाउँमा आधि घण्टादेखि एक घण्टासम्म त्यो स्थलमा पुग्न भ्याउँछ, त्यसरी हामीले मेसिन राखेका छौँ । र काम थालेको ४ देखि ६ घण्टाभित्र चाहिँ सफा गर्ने, एकदमै अप्ठ्यारो अवस्था बाहेक । जस्तो अब खसेको खसेकै ग¥यो भने त्यो सकिँदैन । विशेष परिस्थितिमा बाहेकमा गर्ने गरी छ । अब हामीले सुरु गर्न पायौँ भने अहिले हाम्रो त्यहाँ टिम पुगिसकेको छ । डिजी नै त्यहीँ हुनुहुन्छ, हिजोपनि त्यही थियो । अब त्यो सफा गर्न पाएपछि ४ घण्टामा बाटो खुल्छ ।’
बैठकमा मन्त्री कुलमान घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्र्याकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताए । बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउन माग गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताएका थिए ।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।








