स्वास्थ्य मन्त्रालयको सफाइमा जुटे सहकारी पीडितहरू

काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूले ध्वस्त बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सफाइ अभियानमा सहकारी पीडितहरू समेत सहभागी भएका छन् ।
शनिवार काठमाडौँको रामशाहपथस्थित सो मन्त्रालयमा उनीहरू सफाइ अभियानमा जुटेका हुन् । सो मन्त्रालयको भवनबाट नै छिट्टै सेवाग्राहीको काम हुनसक्ने वातावरण निर्माणमा लागि आफूहरू पनि सफाइ अभियानमा सहभागी भएको सहकारी पीडित कुशलभ केसीले जानकारी दिए ।
सहकारी बचतकर्ता राष्ट्रिय अभियान महासंघको आह्वानमा सहकारी पीडितहरू सफाइ अभियानमा जुटेका हुन् । सरकारले आग्रह गरेपछि आफूहरू आफ्नो माग सम्बोधन हुने विश्वासका साथ सरकारलाई सहयोग पुग्नेगरी स्वयंसेवी काममा सहभागी भएको सहकारी पीडितहरूको भनाई छ ।
सहकारी पीडित केसीले भने ‘हामी सचेत नागरिक हौँ । देश बनाउन हामी सक्षम छौँ । र हामी स्वयं अहिले सकेको सहयोग गरेर सबैले सरसफाइ गरेर श्रम गरेर सहयोग गर्छौँ भनेर यहाँ आएका छौँ । आज हामी एक हजार जनजाति यहाँ सहभागी हुन्छौँ । र आज यहाँ सबै सरसफाइ गरेर काम गर्न हुने वातावरण बनाउने अभियानमा हामी सहभागी भएका छौँ । हामीले सरकारसँग समन्वय गरेर यहाँ सफाइ गर्न आएका हौ । हामी आन्दोलनमा थियौँ । सरकारले सहयोग गर्नुस् भनेपछि यो अभियानमा सहभागी भएका हौ ।’
सहकारी पीडितहरूले आफूहरूको बचत रकम फिर्ता दिन दबाबवस्वरुप आन्दोलन गर्दै आएका छन् ।








