संकटको समयमा भाग्नेलाई अध्यक्ष स्वीकार गर्दैनौँ

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा सुजन कडरियालाई नेता स्वीकार नगर्ने सो संगठनका जिल्ला अध्यक्ष तथा इन्चार्जहरूले चेतावनी दिएका छन् । संकटको बेला भाग्ने व्यक्तिलाई नेतृत्वको रूपमा मान्दैनौँ भन्दै बागमती प्रदेशका इन्चार्ज र अध्यक्षहरूले हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र सार्वजनिक गरेका हुन् ।
कडरियाले जेनजी आन्दोलनको समयमा सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर पछि सामाजिक सञ्जालमार्फत नै अध्यक्ष पदबाट दिएको राजीनामा फिर्ता गरेको बताएका थिए । कडरिया पुनः अध्यक्ष पदमा फर्किन खोज्दा सङ्गठनभित्र विवाद उत्पन्न भएको हो ।
बागमती प्रदेशका ६ जिल्ला अध्यक्ष र सम्बन्धित जिल्लाका इन्चार्जहरूले सार्वजनिक गरेको उक्त पत्रमा आन्दोलनको समयमा भाग्ने र आन्दोलन शान्त भएपछि अध्यक्ष पदमा फर्किन खोज्ने कदम सङ्गठनको नियम र प्रक्रियागत नभएको उल्लेख गर्दै अध्यक्ष कडरियाको पछिल्लो रवैया, आचरण र राजीनामासम्बन्धी कार्यले सङ्गठनको इज्जत र भविष्यसँग मेल नखाने कुरा स्पष्ट पारिएको छ ।









