भिडलाई उक्साएर रविलाई जेलबाट निकाल्न नख्खु पुगेका रहेछन् मनिष झा (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा, जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारमा देखिएको भिडभाड र तोडफोडको घटनामा संलग्न भएको आरोप लागेपछि विवादमा तानिएका छन् । सार्वजनिक भएको एक भिडिओमा उनीमाथि नख्खु कारागारमा आगो लगाएर भीडलाई उक्साएको र त्यसपछि भागेको आरोप लागेको छ ।
भदौ २४ गते पार्टी सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएपछि उत्पन्न परिस्थितिलाई लिएर रास्वपाभित्रै ठूलो तरंग पैदा भएको थियो । सार्वजनिक भएको भिडिओमा नख्खु कारागार परिसरमा आगो बलेको, धुवाँ फैलिएको र मानिसहरूले सार्वजनिक सम्पत्तिमा तोडफोड गरिरहेको देखिन्छ । भिडिओबाट प्रवक्ता झा स्वयं जेन-जी आन्दोलनको क्रममा नख्खु कारागार पुगेको र भीडलाई उक्साएर लामिछानेलाई जेलबाट निकाल्न भूमिका खेलेको खुलेको छ ।
रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा थिए । उनको जेलबाट रिहाइलाई ‘विजय जुलुस’ जसरी प्रस्तुत गरिएपछि रास्वपाको केन्द्रीय समितिमा भर्चुअल छलफलका क्रममा चर्को असन्तुष्टि व्यक्त भएको थियो । केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीले आन्दोलनमा चलखेल गर्न नहुने र त्यसको परिणाम आफ्नो पक्षमा पार्न नहुने भन्दै आपत्ति जनाएका थिए । उनले लामिछाने जेलबाट निस्किँदा ‘रिगल ढकाल (योगराज) निस्किएजस्तो गरी’ विजय जुलुससहित निस्किएको भन्दै यसलाई ‘डनको झल्को’ दिएको टिप्पणी गरेका थिए ।
अर्का केन्द्रीय सदस्य सन्तोष परियारले पनि लामिछानेलाई जेलबाट हर्षबढाइँसहित निकालेकामा असहमति राख्दै ‘सभापतिलाई निकाल्न को को जानुभएको हो, क-कसलाई खबर गरिएको थियो ? यस्तो कसरी भयो ?’ भन्दै प्रश्न उठाएका थिए । यसको जबाफमा सहमहामन्त्री विपिनकुमार आचार्य र बागमती प्रदेश अध्यक्ष अच्युतम लामिछानेले सुरक्षाको कारण देखाई बचाउ गरेका थिए । आन्दोलनकै क्रममा पार्टी सभापति रवि लामिछाने जेलबाट बाहिर आएका थिए, यद्यपी अहिले उनी जेल फर्किसकेका छन् ।
केन्द्रीय सदस्य ज्वाला संग्रौलाले त आफू नख्खु कारागार पुगिसकेको भन्दै सबैलाई तत्काल आउन सूचितसमेत गरेकी थिइन् । अचम्मको कुरा त, यही घटनामा संलग्न देखिएका रास्वपाका प्रवक्ता झा स्वयंले केही दिनअघिको भर्चुअल बैठकमा पार्टी सभापति लामिछाने जेलबाट बाहिर आउँदा ‘बाहिर राम्रो सन्देश नगएको’ भन्दै असन्तुष्टि राखेका थिए । उनले यसलाई ‘गल्ती भएको’ समेत स्वीकार गरेका थिए । तर उनी भिडलाई उस्काएर पार्टीका रविलाई जेलबाट निकाल्न त्यहाँ पुगेको भिडिओ सार्वजनिक भएको हो । यो अन्तर्विरोधी भूमिकाले रास्वपाको सार्वजनिक छवि र आन्तरिक एकतामा थप चुनौती खडा गरेको छ ।








