केपी ओली र रमेश लेखकलाई तत्काल पक्राउ गरियोस् : जेनजी

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल पक्राउ गर्न जेनजीले माग गरेका छन् ।

शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत जेनजीले आन्दोलन दबाउन राज्यसत्ता र संरचना दुरुपयोग गरिएको आरोप लगाउँदै उनीहरूलाई कारबाही गर्नुपर्ने माग राखेको हो ।

जेनजीका सल्लाहकार डा. निकोलश भुसालले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्नुपर्ने धारणा राखे ।

उनले २०४६ सालपछि सत्तामा पुगेका सबै उच्चपदस्थ नेताहरू र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पनि गरे ।

जेनजी आन्दोलनका घाइते हरि अधिकारीले समाजमा व्याप्त कुशासनविरुद्ध आफूहरूले आवाज उठाएको बताए । ‘हामी कुनै व्यक्तिगत लाभका लागि सडकमा आएका होइनौं,’ उनले भने, ‘यदि माग पूरा भएन भने आन्दोलन रोकिने छैन ।’

सहिद परिवारकी प्रतिनिधि नर्गिस थापाले आफ्ना परिवारले चुकाएको मूल्यलाई अपमानित नगरी सरकारले अघि बढ्नुपर्ने चेतावनी दिइन् । ‘हाम्रो परिवारको बगेको रगतको मूल्य बुझिनुपर्छ,’ उनले भनिन्, ‘शान्तिको नाममा अन्याय सहँदैनौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =