प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरियो : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरिएको बताएका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुलुक फेरी नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै उनले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्ने विश्वास समेत व्यक्त गरे ।
उनले अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए । उनले जेनजी आन्दोलनको क्रममा राष्ट्रले भोगेको क्षतिको पुर्ननिर्माण अहिलेको मुख्य कार्यभार रहेको बताए ।
उनले अबको ६ महिनाभित्रमा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्न समेत आग्रह गरे । उनले राजनीतिक दल, मुलुकको शासन तथा व्यवस्थापनमा आबद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व नभई पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे ।
उनले भने ‘हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने मेरो दृढ विश्वास छ । म आफैँ पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रको लागि राजनीतिमा होमिएको थिएँ । परिस्थितिले मलाई भदौ २४ गतेपछि उत्पन्न राजनीति अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ । र सबैको सुझबुझ र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ । लोकतन्त्र र संविधानको भावना ,नवपुस्ताको परिवर्तनको सपना र जनचाहानाअनुसार तत्कालीन समयमा जेजति गर्न सकिन्थ्यो हामीले गरेका छौँ । मुलुक फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको छ । नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ ।
अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुर्ननिर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ । यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो । प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले यो कदम चालिएको कुरा सबैले बुझौँ । र ६ महिनाभित्र प्रतिनिधि सभा ल्याउने चुनाव सम्पन्न गर्न सबै लागौँ । यो घडीमा म सबै राजनीतिक दल मुलुकको शासन तथा व्यवस्थापनमा आबद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व होइन पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गर्दछु ।’
उनले जेन जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरे ।








