जेनजी आन्दोलनमा ध्वस्त संरचना पुनर्निर्माणमा जुट्न मन्त्री घिसिङको आह्वान

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्र निर्माणमा अभियान जुट्न सबैलाई आह्वान गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा आगजनी, तोडफोड गरेर मुलुकका धेरै भौतिक संरचना ध्वस्त भएको उल्लेख गर्दै मन्त्री घिसिङले सबैलाई एकताबद्ध भएर पुनर्निर्माणको काममा केन्द्रित हुन आग्रह गरेका हुन् ।
शुक्रवार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको कार्यालयमा श्रमदान अभियानमा सहभागी भएका उनले पुनर्निर्माणको काममा देशविदेशमा रहेका सबै नेपालीहरूले सक्दो सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।
सरकारले ध्वस्त संरचना निर्माणका लागि छुट्टै कोष खडा गरेर अघि बढेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यसमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सहयोगका लागि पनि आग्रह गरे ।
उनले भने ‘संरचनाहरू धेरै ध्वस्त भएको छ । काठमाडौँमा मात्रै होइन, देशैभरि करिब ३ सय घरहरू ध्वस्त भएका छन् । पुलिसलगायत सुरक्षा निकायका संरचनाहरू ध्वस्त भएका छन् । हजार भन्दा बढी सवारी साधनहरू ध्वस्त भएका छन् । अब पहिला गर्नुपर्ने काम सरसफाइ गरेर प्रयोगमा ल्याउनुपर्ने र पुनर्निर्माण गर्नुपर्ने काम एक, २ महिना भित्र सक्ने । अरू लामो समय लगाएर गर्नुपर्ने काम पनि सुरु गरिसकेका छौँ । यसमा सरकारले गर्ने काम गर्छ नै । यो विषयमा आम नागरिकले पनि गरोस् भनेर कोष खडा गरेका छौँ । यसबारे क्याबिनेटले निर्णय गरेर अघि बढेको छ । यसमा देशविदेशमा रहेका साथीहरूको रकम जम्मा गरेर र उहाँहरूले कसरी सहयोग गर्नुहुन्छ रु सबै सहयोगको अपेक्षा गरेका छौँ । भोलेन्टियर साथीहरूले पनि सहयोग गर्न सुरु गर्नुभएको छ । पूर्वाधारहरू क्षतिग्रस्त भएका छन् ।
देशभरि धरै सरकारी संरचनाहरू ध्वस्त भएका छन् । जलेका छन् । अब हामी यो पूर्वाधार नेपालको हाम्रो पूर्वाधारलाई हामी आफैँ बनाउनुपर्छ भन्ने महाअभियानका साथ यो भोलेन्टियर्स साथीहरूले जुन काम सुरु गर्नुभएको छ । उहाँहरूको कामलाई धेरैधेरै धन्यवाद छ । यो अभियान सरसफाइ अभियान र पुनर्निर्माण अभियानलाई हामीले देशभर आजबाट हामीले सुरुवात गरेका छौँ । सबै भोलेन्टियर्स साथीहरूलाई ठाउँठाउँमा सेक्टरवाईज आएर अगाडि बढ्नलाई म हार्दिक अनुरोध गर्दछु । यो देश बनाउने अभियान, देशको पुनर्निर्माणको जागरण अभियान पनि हो । र देश बनाउने अभियान पनि हो । सबै साथीहरू संलग्न हुनका लागि हार्दिक अनुरोध गर्दछु ।
देशमा रहेका र विदेशमा रहेका सम्पूर्ण साथीहरूले यसमा एकताबद्ध भएर ऐक्यबद्धता जनाएर अघि बढ्न पनि हार्दिक अनुरोध गर्दछु । हाम्रा धेरै संरचनाहरू ध्वस्त भएका छन् । करिब डेढ २ खर्व भन्दा बढीको संरचनाहरू ध्वस्त भएका छन् । यी संरचनाहरूलाई हामी नेपालीहरूले नै श्रमदानबाट र आर्थिक सहयोग जुटाएर र नेपालीहरूले नै बनाउनु पर्छ भन्ने अभियानको रूपमा यसलाई लिएका छौँ । र सरकारले एउटा पुनर्निर्माण कोष पनि खडा गरेको छ । विदेशमा रहेका सम्पूर्ण साथीहरू, नेपालमा रहेका सम्पूर्ण साथीहरू विभिन्न क्षेत्रमा काम गर्ने साथीहरूले यो कोषमा आफूले सकेको आफ्नो इच्छा अनुसारको योगदान जति गर्न सकिन्छ । त्यो गरेर देश विकासको यो महाअभियानमा यो पुनजागरणको अभियानमा सहभागी हुन म हार्दिक अनुरोध गर्दछु । विदेशमा रहेका साथीहरूको यसमा धेरै सहयोग रहनेछ भन्नेमा म एकदम आशावादी छु । विभिन्न देशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको धेरै नै सहयोगको हामीले अपेक्षा गरेका छौँ । र उहाँहरूका विषयमा पनि केही कुराहरू सरकारले एड्रेस गर्नेछ ।
उहाँहरूको भोटिङ राइटदेखि लिएर नागरिकता विषय र भिसाका इस्यूहरुमा सम्बोधन गर्नुपर्छ भनेर त्यसतर्फ छलफल पनि गरिरहेका छौँ । यो विषयमा हामी सबै नेपालीहरू एक भएर अब देश निर्माण तिर अगाडि बढ्नु पर्छ । अव देशमा धेरै नै गम्भीर परिस्थिति निर्माण भयो । यो गम्भीर परिस्थितिलाई अव सहरीकरणतिर अघि बढेर सबैको सहभागिता, सहयोग, सहकार्यमा सबै सहभागी भएर एक भएर अघि बढ्नु पर्छ । अव हामी विध्वंसतिर भन्दा पनि निर्माणतिर अगाडि बढ्नुपर्छ । सबैलाई एक भएर अघि बढ्न म सबैलाई आग्रह गर्दछु । आजको कार्यक्रम हामीले सुरु गरेका छौँ । यो सुरुवात हो । काठमाडौँ मात्रै होइन, देशव्यापी रूपमा सबै जनजी पुस्ताका साथीहरू अव यो पुनर्निर्माण र पुनर्जागरण अभियानमा संलग्न हुन पनि म हार्दिक अनुरोध गर्दछु ।’
त्यस अवसरमा मन्त्री घिसिङले ध्वस्त भएका संरचनाहरूको व्यवस्थापनको कामलाई तीव्रता दिने पनि बताए ।








