फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा फर्काउनेछ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै संवैधानिक सुधारको आवश्यकतामा जोड दिएको छ । पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै संविधानको मर्म र भावनालाई व्यवहारमा उतार्न सबैको सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय एकता, स्वाधीनता र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्दै नागरिकका हकअधिकार सुनिश्चित गर्ने संविधानको स्मरण गर्ने दिन- संविधान दिवस हो । यस विशेष दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि विभिन्न आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।’

रास्वपाले देश-विदेशमा रहनुभएका आम नेपालीमा संवैधानिक सर्वोच्चता, दलीय प्रतिस्पर्धा, विधिको शासन र कानूनी राजजस्ता लोकतान्त्रिक पद्दतिमा विश्वास वृद्धिको कामना गरेको छ । पार्टीले संविधानमा निहित लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समानताका सिद्धान्तहरूलाई व्यवहारमा उतार्न आफूहरू दृढ संकल्पित रहेको जनाएको छ ।

यद्यपि, रास्वपाले संवैधानिक सुधारको मुद्दालाई निरन्तर उठाउँदै आएको स्मरण गराएको छ। विज्ञप्तिमा भनिएको छ, ‘संविधान परिमार्जन नगरी मुलुकमा आमूल सुधारको सुरुवात हुन्न भन्ने हाम्रो अडानलाई पछिल्लो जेन-जी विद्रोह र त्यसक्रममा उठेका आवाज र व्यक्त भावनाले पनि पुष्टि गरेको छ।’

पार्टीले हालको राजनीतिक संक्रमणकाल र अन्तरिम सरकारको सन्दर्भमा पनि आफ्नो धारणा स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, ‘अन्तरिम सरकार बनाउन अक्षरभन्दा भावना खोज्नुपर्ने बाध्यात्मक परिस्थितिमा थोरै लिक बाहिर गएको संविधानलाई घोषित फागुन २१ को निर्वाचनले पुन: सही मार्गमा फर्काउनेछ भन्नेमा विश्वस्त छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =