शंकर पोखरेलको चेतावनी- ‘बलिदानबाट स्थापित दललाई निषेध गर्ने कुरा स्वीकार्य छैन’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै बलिदानपूर्ण संघर्षबाट स्थापित राजनीतिक दलहरूलाई निषेध गर्ने प्रयास अस्वीकार्य हुने बताएका छन् । उनले लोकतन्त्रमा राजनीतिक दलहरूलाई कमजोर बनाएर वा निषेध गरेर अगाडि बढ्न नसकिने स्पष्ट पारे ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले भने, ‘लोकतन्त्रमा राजनीतिक दलहरूलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन । कुनै राजनीतिक दलका नीतिहरू मन परेनन् भने नयाँ राजनीतिक दलहरू खोल्न मिल्छ ।’
उनले नेतृत्वमा रहेका दलहरूले नै एकाधिकार प्राप्त गर्छन् भन्ने कुरा संविधानको मान्यता नभएको र यो कसैको आग्रह पनि नभएको बताए । पोखरेलका अनुसार, नीतिमा प्रतिस्पर्धा लोकतन्त्रको विशेषता हो । उनले नेकपा एमाले वा नेपाली कांग्रेसले अघि सारेको भन्दा राम्रो नीति कसैले ल्याउन सक्छ भने त्यसका लागि संविधानले बाटो नछेकेको बताए । ‘तर जनताका लागि आफ्ना नीति र योजना, कार्यक्रम अघि बढाइरहेका र बलिदानीपूर्ण संघर्ष गरेका राजनीतिक दलहरूलाई निषेध गर्ने कुरा स्वीकार्य हुन सक्दैन,’ उनले भने ।
महासचिव पोखरेलले नव युवाहरूको आन्दोलनका नाममा लोकतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै यस्ता गतिविधि स्वीकार्य नहुने बताए ।








