संविधानले नेपालीलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ को पावन अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको गौरवपूर्ण तथ्य दोहोऱ्याएका छन् ।

दिवसको पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, “वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।” यो संविधान केवल एउटा दस्तावेज नभई, नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको प्रतिफल भएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले यस अवसरमा गणतन्त्र स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा आफ्नो जीवन आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, आन्दोलनमा अतुलनीय योगदान पुऱ्याउने राजनीतिक नेतृत्व, अग्रगामी कार्यकर्ता र आम नागरिकहरूप्रति गहिरो सम्मान प्रकट गरेका छन्।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न संविधान दिवसले सबै नेपालीलाई एकजुट हुन प्रेरणा दिने दृढ अपेक्षा व्यक्त गरे। यो संविधानले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न सबैको सामूहिक प्रयास अपरिहार्य रहेको उनले औंल्याए।

संविधानले हिमाल, पहाड र तराईको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनालाई समान संरक्षण र सम्मान दिएको उल्लेख गर्दै राष्ट्रपतिले भने, “नेपालीहरूबिच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो अटल विश्वास छ।” उनले आपसी सद्भाव र एकता नै राष्ट्रको प्रमुख शक्ति भएकोमा जोड दिए।

राष्ट्रपति पौडेलले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको स्मरण गराउँदै सबै नागरिकले राज्यका सेवा सुविधामा समान पहुँच पाउनुपर्नेमा जोड दिए। यसले मात्रै वास्तविक समावेशी र न्यायपूर्ण समाजको निर्माण सम्भव हुने उनको धारणा थियो।

अन्त्यमा, राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ-आफ्नो क्षेत्रबाट योगदान दिन सबैमा हार्दिक आव्हान गरेका छन्। संविधान दिवसलाई केवल औपचारिकतामा सीमित नगरी यसका अन्तर्निहित मूल्य र मान्यताहरूलाई आत्मसात् गर्दै अगाडि बढ्न सके मात्रै राष्ट्रले प्रगतिको बाटो तय गर्न सक्ने सन्देश उनले दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =