सहिद चौधरीको परिवारलाई लहान नगरको सहयोग

सिरहा । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर सहिद हुनुभएका लहान नगरपालिका–१५ सिमलटोकीका विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले रु एक लाख राहत दिने भएको छ ।

साथै विजयको चार वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने र पत्नीलाई योग्यताअनुसार नगरमा रोजगारीको व्यवस्था गर्ने निर्णय गरिएको हो ।

नगरप्रमुख महेश चौधरीले मङ्गलबार पत्रकार सम्मेलनमार्फत उक्त निर्णयबारे जानकारी दिएका थिए । उनले भने “प्रदर्शनमा ज्यान गुमाइसकेपछि परिवारले भोग्नुपर्ने पीडा केही हदसम्म भए पनि कम होस् भन्ने उद्देश्यले हामीले राहत, शिक्षा र रोजगारको व्यवस्था मिलाएका हौँ ।”

गत भदौ २३ र २४ गते प्रदर्शनकारीले लहान नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी गरी भवनलाई पूर्ण रूपमा क्षति पु¥याएका थिए । नगरप्रमुख चौधरीले आफू जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै भने “कार्यालयको संरचना जलेर नष्ट भएको छ, तर हाम्रो सेवा भावना र जिम्मेवारी जलेको छैन । दुःखसुख गरेर भए पनि आइतबारदेखि हामी सेवा प्रवाहमा लाग्ने तयारी गरेका छौँ ।”

गत भदौ २३ गते काठमाडौँमा भएको प्रदर्शमा प्रहरीको गोली लागेर २७ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो । उहाँको नौ दिनपछि मङ्गलबार गाउँमा अन्तिम संस्कार गरिएको हो ।

विजय घरका कान्छा छोरा थिए । उनको एक दाई र एक दिदी छन् । विजय काठमाडौँमा झण्डै एक दशकदेखि ‘हाउस वायरिङ’को काम गर्दै आएका थिए ।

यसअघि सङ्घीय सरकारले प्रदर्शनमा मृत्यु हुनेलाई सहिद घोषणा गरिसकेको छ । साथै, पीडित परिवारलाई प्रतिव्यक्ति रु १५ लाख राहत दिने निर्णय पनि गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =