राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरूसँग छलफल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा अन्तर्गतका समिति सभापतिहरूसँग छलफल गरेका छन् ।
अध्यक्ष दाहालले बिहीबार छलफल गरेको विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन् । अध्यक्ष दाहालले छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको कुरा जानकारी गराएको उनले बताइन् ।
उनले राष्ट्रिय सभा अन्तर्गतका समितिहरूले गर्ने काम नियमित रूपमा गर्न निर्देशन दिएको पनि जानकारी दिइन् । समितिले जेनएनजी आन्दोलनमा भएका क्षति, घाइते, चाडपर्वमा हुने मंहगी लगायतको अनुगमन गर्ने पनि बताइन् । प्रतिनिधि सभा नभएको बेलामा राष्ट्रिय सभाले सरकारलाई सहयोग तथा समन्वय गर्ने विषयमा छलफल भएको उनले जानकारी दिइन् ।
उनले भनिन् ‘राष्ट्रिय सभा स्थायी सदन भएकोले समितिको नियमित कामहरू जुन छन् । जस्तो वार्षिक प्रतिवेदनका कुराहरू छ, समीक्षाका कुराहरू छन् । त्यसपछि हाम्रो कार्यक्षेत्र अन्तर्गत चाहिँ अहिले भएको जुन एउटा चाहिँ संरचनाहरूको ध्वस्त भएका, व्यक्तिगत घरहरू ध्वस्त भएको छ, त्यो चाहिँ सरकारलाई तथ्यगत तथ्याङ्कहरू के हुन्छ ? जुन जेनजी पुस्ताहरू जुन आन्दोलनमा परेका छन्, उनीहरूलाई राहतको कुराहरू, क्षतिपूर्तिका कुराहरू, औषधि उपचारका कुराहरू, तीन सय भन्दा बढी चाहिँ अस्पतालमा भर्ना भएका छन् । उहाँहरूलाई चाहिँ अलिकति अनुगमन गर्ने सरकारलाई निर्देश गर्ने । त्यो उपचार गर्ने कुराहरूमा, राहत दिने कुराहरूका क्षतिपूर्ति दिने कुराहरूमा र अर्को भौतिक संरचनाको चाहिँ तथ्यगत तथ्याङक के हो ? अनुसन्धान गरेर लिएर आएर त्यसमा चाहिँ हेर्ने र अर्को समन्वय, सहकार्य गर्ने । यतिखेर प्रतिनिधि सभा नभएको हुनाले राष्ट्रिय सभा भएको हुनाले राष्ट्रिय सभाले सरकारलाई सहयोग पुर्याउने र संविधानलाई चाहिँ जति संविधानलाई कार्यान्वयन गर्ने कुराहरू छ, प्रदेश छ, स्थानीय तह छ, राष्ट्रिय सभा छ । केही नियमित कामहरू गर्ने र अर्को चाडपर्व नजिकै आएको हुनाले चाडपर्वको मुखमा जस्तो मंहगी, मूल्य जुन बढेको छ । समितिले आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्ने भन्ने कुरा भएको छ ।’
संसद सचिवालयका उपसचिव अनन्तप्रसाद कोइरालाले राष्ट्रिय सभा अन्त्रगतका चार वटा विषयगत समितिहरू हाल सक्रिय अवस्थामा रहेको जानकारी दिइन् ।
विशेष परिस्थितिमार्फत चुनावी सरकारले बनेको अवस्थामा समितिले के कसरी सहयोग, सहजीकरण गर्ने भन्ने बारेमा छलफल भएको उनले बताइन् । चार वटै समितिका सभापति, समिति सचिव र राष्ट्रियसभा सचिवसहितको अनौपचारिक बैठक बसेको उनको भनाई छ ।








