जेनजी आन्दोलनका नाममा भएको आगजनी आपराधिक षड्यन्त्रपूर्ण : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गरेका छन् ।

बिहीबार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

एमालेले विधान महाधिवेशनमार्फत जेन–जी पुस्ताका मागहरू सम्बोधन गर्नेगरी वक्तव्य सार्वजनिक गरेको भएपनि योजनाबद्ध ढंगले राज्यका महत्त्वपूर्ण निकाय र राजनीतिक दलका कार्यालयहरूमाथि आगजनी गरिएको उनको भनाइ छ । उनले राज्य संरचना र पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुमा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गर्ने तत्त्वहरू तथा व्यवस्था विरोधीको हात रहेको दाबी गरे ।

उनले आन्दोलनको नाममा भएको विध्वंस र आगजनीको सबै मिलेर विरोध गर्नुपर्नेमा जोड दिए ।

उनले भने ‘जेन–जी पुस्ताका मागहरूलाई सम्बोधन गरिनुपर्छ भन्ने पार्टीको तर्फबाट जारी भएका वक्तव्यहरूमा हामीले उल्लेख गरेका थियौँ । तर त्यसको भोलिपल्ट जुन बितण्डा मच्चाइयो त्यो एकदमै षड्यन्त्रपूर्ण छ भन्ने मलाई लाग्छ । र त्यही शिलशिलामा राज्यका महत्त्वपूर्ण संस्थाहरूमाथि आगजनी भयो । जननिर्वाचित प्रतिनिधि संस्थाहरूमाथि आगजनी भयो । विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरूमाथि पनि आगजनी भयो, ध्वस्त बनाइए । यही क्रममा हाम्रो पार्टी कार्यालय पनि जलाइएको छ । र यहाँ रहेका बहुमूल्य चिजहरू कुनैपनि बाँकी रहेका छैनन् । यो के देखिन्छ भन्दा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई नसहने तत्त्वहरूको यसमा हात छ भन्ने अन्दाज गर्न सकिन्छ । होइन भने यस्तो विध्वंसको कुनै आवश्यकता देखिँदैन । यो निकै षड्यन्त्रपूर्ण छ, आपराधिक छ । यसको हामी सबै मिलेर विरोध र भर्त्सना गर्नुपर्छ । र हामी नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

अब पार्टीलाई नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =