सरकार र निजी क्षेत्रको सहकार्यमा पुन:निर्माण- मुख्यसचिव अर्याल

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकार र निजी क्षेत्रको सहकार्यबाट जेन जी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण गरिने बताएका छन् ।
हिलटेक समूहले बिहीबार नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
आन्दोलनका क्रममा धेरै क्षति भएको उल्लेख गर्दै उनले यसको छिट्टै पुनर्निर्माण सम्पन्न गरेर सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । त्यसको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको उनले बताए ।
उनले निजी क्षेत्रमा पनि क्षति पुगेको बताए । पुनर्निर्माणमा सहयोग गर्न उहाँले निजी क्षेत्र र युवाहरूलाई आग्रह गरे । धेरै ठाउँहरूमा निजी क्षेत्रले स्वतःस्फूर्त रूपमा सरकारी कार्यालय तथा प्रहरी चौकीहरू पुनर्निर्माणमा सहयोग गरिरहेको पनि बताए ।
उनले भने ‘निजी क्षेत्रले जुन खालको सहयोग गर्ने उत्साह देखाएको छ, धेरै ठाउँहरूमा यो प्रहरी चौकीहरू र सरकारी कार्यलयहरु स्वतःस्फूर्त हिसाबमा चाहिँ बनाउने अभियान पनि सुरु भएको छ । काठमाडौँकै धेरै ठाउँहरूमा निजी क्षेत्रबाट जिम्मा लिएर पनि कामहरू भइरहेको छ । म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । धेरै क्षति छ, तपाईँहरूले देखिरहनुभएको छ । म के आग्रह गर्न चाहन्छु भने । यसैगरी यो पुनर्निर्माण हामीले छिट्टै गर्नुपर्नेछ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेछ । यसलाई सबै क्षेत्रबाट विशेषगरी निजी क्षेत्रमा पनि क्षति छ, तरपनि सरकार र निजी क्षेत्रको समन्वयमा यो पुनर्निर्माणलाई चाहिँ छिटो भन्दा छिटो सक्नुपर्ने भएको हुनाले यसैगरी सहयोगका हातहरू बढाइदिन र सरकारसँग सहकार्य गरेर अगाडी बढ्नको लागी म सबैसँग आग्रह गर्न चाहन्छु । र विशेषभरि युवा पुस्ताहरूले जुन कुरा उठाइराख्नुभएको छ, उहाँहरूलाई पनि यो अभियानमा सरिक हुनको लागी सरकारको तर्फबाट म हार्दिक आग्रह गर्न चाहन्छु ।’
उनले हिलटेक समूहले सरकारलाई १०० वटा पानी ट्याङ्की र ५०० वटा ट्राफिक कोन उपलब्ध गराएको पनि जानकारी दिए । हिलटेक समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत एक हजार लिटर क्षमताका १ सय वटा पानी ट्याङ्की, ५ सय थान ट्राफिक कोन र अन्य सामग्री उपलब्ध गराएको समूहका अध्यक्ष कमल जैनले जानकारी दिए ।








