जेनजी आन्दोलनमा निर्वाचन आयोग अन्तर्गतका ६ वटा कार्यालयहरूमा आगजनी

काठमाडौँ । जेन जी आन्दोलनका क्रममा निर्वाचन आयोग अन्तर्गतका ६ वटा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ ।

भदौ २३ रु २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा यी घटनाहरू भएको निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्रीहरू जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताए ।

उनकाअनुसार प्रदेश निर्वाचन कार्यालय मोरङको कार्यालयमा तोडफोड र सामग्रीहरू चोरी भएको, जिल्ला निर्वाचन कार्यालय सप्तरीको कार्यालयमा आगजनी र सामान चोरी भएको साथै मोटरसाइकल जलाइएको छ । त्यस्तै जिल्ला निर्वाचन कार्यालय चितवनमा भवन तथा चारपाङ्ग्रे सवारी साधन आगजनी भई पूर्ण रूपमा क्षति भएको छ ।

उनले प्रदेश निर्वाचन कार्यालय कास्कीमा चारपाङ्ग्रे सवारी साधन एउटामा आगजनी भई पूर्ण क्षति भएको र अर्कोमा तोडफोड भएको, प्रदेश निर्वाचन कार्यालय दाङको भवनमा ढुंगामुढा गरी क्षति पुर्याइएको, मोटरसाइकल आगजनी भई पूर्ण रूपमा क्षति भएको र जिल्ला निर्वाचन कार्यालय डडेलधुराको कार्यालय तोडफोड हुनुका साथै २ वटा मोटरसाइकल र कम्प्युटर, ल्यापटप जलेको बताए ।

माघ १५ भित्रै राष्ट्रिय सभाका १९ सिटको निर्वाचन गर्न सिफारिस

निर्वाचन आयोगले रुपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ३ को कार्तिक १७ गते हुनेगरी तय गरिएको उपनिर्वाचन रद्द गरेको छ । मनाङ जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर २ को कार्तिक १७ गते हुनेगरी तोकिएको उपनिर्वाचन यथावत् रहेको जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक तयारी सुरु गरिसकेको आयोगले जनाएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने कार्यविधि, निर्देशिका, मापदण्ड बनाउन र निर्वाचन सामग्री, बजेट र जनशक्ति व्यवस्थापनका योजना तर्जुमा गर्ने कार्य सुरु भएको बताएको छ । फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभा सदस्य १९ सिटको निर्वाचन कानुन बमोजिम रिक्त हुनु भन्दा ३५ दिनअघि माघ १५ भित्र सम्पन्न गर्न आयोगको परामर्शमा सरकारले मिति तोक्नुपर्ने माग आयोगको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + four =