प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति सभामुख घिमिरेको असन्तुष्टि

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
बिहीबार संघीय संसद भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो असन्तुष्टि राखेका हुन् ।
प्रतिनिधि सभा विघटन नगरी त्यसैबाट समाधान खोज्दा राम्रो हुनेमा त्यस्तो हुन नसकेको उनको भनाइ छ । उनले जेन–जी पुस्ताको आन्दोलनको उद्देश्यको राम्रोसँग अध्ययन गरेर मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
आन्दोलनका क्रममा मुलुकले व्यहोरेको क्षति दुःखदायी भएको भन्दै उनले सबैले एकआपसमा मिलेर मुलुकलाई ठिक ढंगले अगाडि बढ्नुपर्ने बताए ।
उनले भने ‘यो आन्दोलन के हो रु गर्न खोजेको के हो रु सबैकुराहरु राम्रैगरी अध्ययन गर्नुपर्छ । हामीले जे व्यहोरिरहेका छौँ त्यो ज्यादै दुःखद कुरा हो । यसबाट उठेर ठिक ढंगले अगाडि जानुपर्ने हामी सबैको दायित्व छ । यो बेलामा सबै लागौँ । यी सबै दुर्घटनाहरू नहुनुपथ्र्यो । मुलुकमा व्याप्त समस्याहरूलाई अलिक राम्रो ढंगले समाधान गर्न बाटाहरू खोज्न सकिन्थ्यो होला । त्यो हुन सकेन । प्रतिनिधि सभा विघटन नगरीकन यसैबाट समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’
सभामुख घिमिरेले अन्तरिम सरकारको काँधमा ठुलो जिम्मेवारी रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना पनि व्यक्त गरे ।








