जेनजी पुस्ताले आन्दोलन सत्ता प्राप्तिका लागि होइन भन्ने मानक स्थापित गरिदिए : पुरञ्जन आचार्य

काठमाडौं । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले जेन जी पुस्ताले देशको समस्या बुझेर आन्दोलन गरेको बताएका छन् । उनले जेन जी आन्दोलन भविष्यउन्मुख रहेको बताएका हुन् ।

भ्रष्टाचार र बेथितिका विरुद्धमा आवाज उठाउँमा ज्यान गुमाउनुपरेको र बिना स्वार्थ त्याग गरेर राज्य सत्ता अर्को पुस्तालाई सुम्पिनु सुझबुझपूर्ण निर्णय भएको बताए । उनले नेपालको इतिहासमा आन्दोलनकारी सत्तामा जान लुछाचुँडी गरेको देखिएको भएपनि जेन जीले आफू सत्तामा रहनका लागि अनुभवविहीन रहेकाले अनुभव भएका व्यक्तिहरूलाई सत्तामा राख्नु महत्त्वपूर्ण रहेको जिकिर गरे ।

आन्दोलन सत्ता प्राप्तिका लागि भन्ने भाष्यलाई चिरेर जेन जी पुस्ताले उदाहरण प्रस्तुत गरेको उनको ठम्याइ छ । जेन जी पुस्ताले आफूहरू आन्दोलन गर्न सक्षम रहेको, सत्ता परिवर्तन गर्न सक्षम रहेको तर सत्ता सञ्चालन गर्न परिपक्व नभएको बुझेको बताए ।

उनले भने, ‘यो आन्दोलन भविष्यउन्मुख छ । यो बिना स्वार्थ त्याग गरेको छ । किनभने जेन जीले आन्दोलन गरेर एकथरीलाई लगेर सत्तामा बसाइदिएको छ । आफू बसेको छैन । आफू जान्न भनेर घोषणा गरेको छ । अहिलेसम्म आन्दोलनकारीहरू नेपालको इतिहासमा २००७ सालदेखि अहिलेसम्म आन्दोलन गर्नेहरू हत्तपत्त सत्तामा जान र सत्तामा लुछाचुँडि गर्न नाम कहलिएका थिए, कुख्यात भएका थिए । चाहे त्यो २००७ सालको क्रान्ति होस्, त्यसपछि आएको २०३६ सालको क्रान्ति होस् । २०४६, २०६२/२०६३ सालको । आन्दोलन केका लागि गरेको भन्दा झन्डै झन्डै एउटा मान्यता र मानक स्थापित भएको थियो की सत्तामा जान भन्ने । यो पहिलो आन्दोलन हो । जुन आन्दोलनकारी समूहले आन्दोलन गरेको हो हामी सत्तामा जाँदैनौँ भनिरहेको छ । त्यसैले यहाँ त्याग पनि छ, निःस्वार्थपन पनि छ । यो आन्दोलनले नयाँ मानक स्थापित गरेको छ । त्यसलाई लिएर हामी जस्तो पुरानो पुस्ताले नयाँ पुस्तालाई धन्यवाद दिनुपर्छ । यो उमेरले आफूलाई आफ्नो क्षमतालाई,मुलुकलाई, मुलुकको विद्यमान ऐन, कानूनलाई बुझे । हामी आन्दोलन गर्नसक्छौँ, आन्दोलन गरेर सत्ता त परिवर्तन गरिदिनसक्छाैँ तर सत्तामा गएर सरकार चलाउन सक्दैनौँ, हामीसँग अनुभव छैन अहिले भन्ने बुझे । त्यो उनीहरु आफैँले भनेका पनि छन् । नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो समस्या पहिलाको पुस्ताले बुझेन अहिलेको पुस्ताले बुझ्यो । पहिलेको पुस्ताले हामी सबैकुरा जान्दछौँ भन्थ्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =