नेपालविरुद्धको शृंखलाका लागि वेस्टइन्डिजले गर्‍यो टोली घोषणा

काठमाडौं । आगामी दुई सातापछि यूएईको शारजाहमा आयोजना हुने ट्वान्टी-ट्वान्टी शृंखलाका लागि वेस्टइन्डिजले नेपालसँग खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अनुभवी स्पिनर अकिल हुसेनको कप्तानीमा घोषणा गरिएको यस टोलीमा ६ जना युवा खेलाडीले ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गर्ने भएका छन् ।

वेस्टइन्डिज क्रिकेट बोर्डले आगामी ट्वान्टी-ट्वान्टी विश्वकपको तयारीका लागि युवा प्रतिभाहरूलाई अवसर दिने रणनीति अन्तर्गत यो टोली घोषणा गरेको हो । यस टोलीमा अकिल हुसेनबाहेक जेसन होल्डर, केसी कार्टी, फबिएन एलेन, कायल मेयर्स र ओबेद म्याकोय जस्ता अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका खेलाडीहरू छन् । टोलीका ९ जना खेलाडीले यसअघि नै अन्तर्राष्ट्रिय खेलहरूमा आफ्नो उपस्थिति जनाइसकेका छन् ।

टोलीमा समावेश अन्य खेलाडीहरूले घरेलु लिग र क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन् । युवा जोस र अनुभवी खेलाडीको सन्तुलनले यो टोलीलाई अझ सशक्त बनाएको छ । वेस्टइन्डिज क्रिकेट बोर्डको यस निर्णयले युवा खेलाडीहरूलाई ठूलो मञ्चमा आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ, जसले गर्दा उनीहरूले अन्तर्राष्ट्रिय स्तरको दबाब र प्रतिस्पर्धाको अनुभव गर्न पाउनेछन् ।

नेपालविरुद्ध खेल्ने वेष्टइण्डिजको टोली: अकिल हुसेन (कप्तान), फबिएन एलेन, जवेल एन्ड्रयु, एकिम अगष्ट, नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, अमिर जांगो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स र शमार स्प्रिंगर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =