राजीनामा माग्ने नेतालाई सीके राउतको सन्देशः ‘पार्टी छाड्न यो नै उपयुक्त समय’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले पार्टीभित्रका असन्तुष्ट नेताहरूप्रति संकेत गर्दै पार्टी छाड्न चाहनेका लागि अहिले नै उपयुक्त समय रहेको बताएका छन् ।

राउतले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै नेताहरूको राजीनामाको मागपछि यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अनुशासनमा बस्न नसक्ने, पार्टीप्रति आस्था नराख्ने वा अन्य विकल्प रोज्न चाहनेहरूका लागि यो ‘सुनौलो अवसर’ भएको बताएका छन् ।

‘प्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने,’ उनले लेखेका छन्, ‘यदि कसैलाई पार्टीमा उकुसमुकुस लागि रहेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ… भने योभन्दा राम्रो मौका आउने छैन ।’

राउतले यतिबेला पार्टीभित्र युवा आन्दोलन र आन्तरिक ऊर्जा रहेको भन्दै त्यसको सदुपयोग गर्दै जनमत पार्टीलाई स्वच्छ, वफादार, इमान्दार र क्रियाशील सदस्यहरूको पार्टी बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् ।

उनले लेखेका छन्, ‘पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नुपरेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको छ भने… अहिले कुनै बहाना चाहिँदैन । जेन–जी आन्दोलन छ, युवाहरूको रापताप छ ।’

पार्टी छोड्न चाहनेका लागि उनले हस्ताक्षरसहितको राजीनामा पत्र पार्टीको आधिकारिक इमेलमा पठाउन समेत आग्रह गरेका छन् । साथै उनले पार्टी छाड्नेप्रति कुनै गुनासो नरहने स्पष्ट पार्दै योगदानको कदर गरिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 14 =