तोकिएकै मितिमा निर्वाचन गराउन एमाले दृढ छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
आफूहरूले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने सङ्कल्प गरेको उनको भनाइ छ । उनले जेन–जी पुस्ताको आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण सङ्कलनको कार्य भइरहेको पनि बताए ।
संविधान दिवसलाई आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूको स्मरणका रूपमा देशभर मनाउने पनि उनको भनाइ छ । मुलुक राजनीतिक संकटको अवस्थामा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्था राजनीतिक दलहरूबिच सहानुभूति र सहकार्यको आवश्यकता रहेको पनि बताए ।
उनले भने ‘जुन ढङ्गले संरचनाहरू क्षति भएका छन् । देशभरको क्षतिको विवरण हामी लिँदैछौं । त्यही क्रममा हाम्रो पार्टी कार्यालयमा पनि क्षति भएको छ । संरचना, कागजात र गाडीहरू पनि जलेका छन् । अरू दलहरूका कार्यालयको अवस्था पनि त्यस्तै भएको छ । हिजो हामीले नेपाली काँग्रेसको पार्टी कार्यालयको अनुगमन गरेका थियौँ । आज काँग्रेसका उपसभापति लगायत नेताहरू आएर हाम्रो पार्टी कार्यालयहरूको अनुगमन गर्नुभएको छ । यो बेलामा पार्टीहरुबीच सहानुभूति र सहकार्य गर्ने र कसरी अगाडि बढ्ने बेला पनि हो । देशभरि जहाँपनि संरचनाहरू जलेका छन् । त्यसका लागि दुःख र सहानुभूति व्यक्त गर्दर्छौं । अब अलि नयाँ ढङ्गले जाने सङ्कल्प पनि हामीले गरेका छौँ । पर्सि परेको संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभूतिको रूपमा देशभर मनाउने छौँ । साथै लोकतान्त्रिक प्रक्रियालाई फेरी लयमा फर्काउने र शान्तिपूर्ण ढङ्गले निर्वाचन गराउने सङ्कल्प गर्ने दिन पनि हो असोज ३ गते त्यहीअनुसार अघि बढ्छौँ ।’
बुधवार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस नेताहरूले एमालेको क्षतिग्रस्त केन्द्रीय कार्यालयका संरचनाहरूको अवलोकन समेत गरेका छन् ।








