यी हुन् रास्वपाको भर्चुअल केन्द्रीय समिति बैठकका निर्णय

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले सो दिन पार्टी कार्यालयमा बिदा दिने र राष्ट्रिय तथा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

मंगलबार बसेको भर्चुअल बैठकले संविधान दिवस (असोज ३ गते)का अवसरमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न देशभरका पार्टी कार्यालयहरूमा कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

बैठकले आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाहरूको सफाइ र पुनःनिर्माणमा सघाउने, तथा क्षतिको विवरण संकलन गर्न रास्वपाका सदस्यहरूलाई पार्टीको पहिचानबिना स्वयंसेवकका रूपमा खटाउने निर्णय पनि गरेको छ ।

जेन–जी आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन पार्टीको स्वास्थ्य विभागलाई परिचालन गरिनेछ ।

साथै स्वास्थ्य सहायता अभियान सञ्चालन गर्ने र शहीद परिवारहरूसँग भेटघाट गरी आवश्यक सहयोग पु¥याउने निर्णय पनि बैठकमा पारित गरिएको प्रवक्ता झाले जानकारी दिए ।

रास्वपाले असोज २ गतेदेखि पार्टी गतिविधि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै पार्टीका सबै विभागहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषयमा समृद्धिको नीति, कार्यक्रम र संकल्प तयार गर्ने कार्य अगाडि बढाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =