जनार्दन शर्माको माग : ‘प्रचण्डले अब राजीनामा दिनुपर्छ’

 काठमाडौं । जेनजी आन्दोलनले पुराना राजनीतिक संरचनामाथि गम्भीर प्रश्न उठाइरहेका बेला माओवादी केन्द्रभित्र नेतृत्वको औचित्यमाथि खुला बहस सुरु भएको छ । पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिन सार्वजनिक रूपमा माग गरेका छन् ।

शर्माले जेनजी आन्दोलनले देशमा थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको भन्दै पुरानो ढाँचाको नेतृत्व अब जनअपेक्षाअनुसार नरहेको टिप्पणी गरेका हुन् । उनले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सुरु गर्नुका साथै आफ्नो धारणा पार्टी पंक्तिमा छलफलका लागि प्रस्तुत गरिसकेको जानकारी दिएका छन् ।

पार्टी पंक्तिसँगको छलफलमा शर्माले भनेका छन्, ‘जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ, नयाँ नेतृत्व खोजेको छ, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।’

उनले वर्तमान सरकारलाई सहयोग गर्दै ताजा निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेमा पनि जोड दिएका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ।

भदौ २३ मा काठमाडौंमा भएको जेनजी युवाहरुको प्रदर्शनले देशव्यापी प्रभाव पारेको थियो । प्रदर्शनले उग्र रुप लिएपछि संसद् भवनमा क्षति पुर्‍यिएको थियो र त्यसको भोलिपल्ट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । आन्दोलनपछि सिंहदरबारमा क्षति व्यवस्थापन र प्रशासनिक सुधारको लहर चलेको छ भने अब माओवादी पार्टीभित्रै नेतृत्वको नैतिकताको प्रश्न उठ्न थालेको छ।

शर्माले गत साउनमा बसेको केन्द्रीय समिति बैठकमा पनि प्रचण्डमाथि प्रश्न उठाएका थिए, तर त्यो बहुमतले अस्वीकृत गरिएको थियो । अहिले भने जेनजी आन्दोलनपछि उत्पन्न जनदबाबका कारण पार्टीभित्रै नेतृत्वको विषयमा पुनः चर्को बहस सुरु भएको छ ।

शर्माको १६ बुँदे धारणा

शर्माले जेनजी आन्दोलनको समीक्षा गर्दै पार्टी र देशका लागि आगामी कार्यदिशा प्रस्तुत गरेका छन्, जसमा प्रमुख रूपमा निम्न बुँदाहरू छन्:

१. जेनजी आन्दोलनको सकारात्मक संश्लेषण गर्नुपर्छ।
२. दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलाली अन्त्य गर्न नयाँ बाटो अवलम्बन गर्नुपर्छ।
३. वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनको वातावरण बनाउनुपर्छ।
४. सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्छ।
५. २०४६ पछि पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ।
६. पार्टी मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ।
७. प्रत्यक्ष निर्वाचित नेतृत्व प्रणालीमा जानुपर्छ।
८. पदावधिको सीमा र स्पष्ट नीति बनाइनुपर्छ।
९. पूर्ण समानुपातिक प्रणालीबाट संसद् निर्माणको बहस सुरु गर्नुपर्छ।
१०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्छ।
११. दलित र महिलाका समस्याहरू सम्बोधन गर्न स्पष्ट नीति बनाइनुपर्छ।
१२. यौन अराजकता र सांस्कृतिक विचलनको छानबिन गर्नुपर्छ।
१३. युद्धपीडित, घाइते, बेपत्ता परिवार र वृद्धहरूको संरक्षण नीति ल्याइनुपर्छ।
१४. सबैलाई स्वरोजगार बनाउने श्रम आधारित नीति ल्याउनुपर्छ।
१५. राष्ट्रियताको संरक्षणका लागि पार्टी पंक्ति सतर्क हुनुपर्छ।
१६. माथि उल्लेखित लक्ष्य हासिल गर्न नयाँ संगठन निर्माण गर्नुपर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =