नेतृत्वले सत्तालाई खेल सम्झिरहेसम्म देश उज्यालो हुँदैन : डा. सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पार्टीको हालको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसभित्र आत्मसमीक्षा र नवनिर्माणको आवश्यकतामाथि जोड दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विचारहरूमा पार्टी नेतृत्वप्रति आक्रोश, नीति–निर्णयमा देखिएको असफलता, गुटबन्दी, भ्रष्टाचार, सेवा प्रवाहको असमानता लगायत विषयमा तीखा टिप्पणी गरेका छन् । डा. शर्माले भनेका छन् ‘पार्टीको अपजसको दोष केवल सभापतिलाई थोपार्नु न्यायोचित हुँदैन, हामी सबै यसको हिस्सेदार हौं ।’
उनका अनुसार, नेपाली कांग्रेसको गौरवशाली इतिहासमा आजको स्थिति लाजमर्दो बिन्दुमा आइपुगेको छ । उनले पार्टी इतिहासमा बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला लगायत नेताहरूको योगदान स्मरण गर्दै अहिलेको कांग्रेस त्यस गौरवको प्रतिरूप नभएको बताएका छन् ।
डा. शर्माले देशको दुःखद यथार्थ चित्रण गर्दै भनेका छन्– ‘आम नागरिक दुई छाक खाना र एक सिटामोलको खोजीमा छन्, बालबालिका खोलामा बगिरहेका छन् तर नेताहरू भोज भतेर र गाडीको लस्करमा रमाइरहेका छन् ।’
उनले जिल्लास्तरमा हुने पार्टी कार्यक्रमहरूमा हुने खर्च, मदिरा र मासुको तामझाम, देखावटी शक्ति प्रदर्शन, र पार्टी केन्द्रीय कार्यालयमा चलाइने गुटगत कार्यालयहरूको अपारदर्शिता बारे पनि प्रश्न उठाएका छन् ।
कांग्रेस नेता शर्माले पार्टीभित्रको आर्थिक अनियमितता र नेतृत्वको मौनता प्रति पनि उनले असन्तुष्टि प्रकट गरे । ‘विदेश, तस्करी वा ठेक्काबाट आएको पैसाको स्रोत खोलिँदैन, यो पारदर्शिता होइन, भ्रष्टाचारको मौन स्वीकृति हो’ उनले भने ।
शर्माले शिक्षा क्षेत्रमा गरिएको सिन्डिकेट, निजी विद्यालय बन्द गर्ने प्रयास, नर्सिङ कलेजहरू बन्द गरिएकोप्रति पनि आक्रोश पोखेका छन् ।
त्यस्तै, गैरआवासीय नेपालीहरूमाथि ‘अनागरिक’ जस्तो व्यवहार गरिएको, सम्पत्ति कायम गर्न नपाउनु, र उनीहरूको मौलिक पहिचान नै खोसिएको घटनालाई उनले लाजमर्दो भनेका छन् ।
संसदभित्र जनताको आक्रोश प्रवेश गरेको विषयलाई उनले गम्भीर चेतावनीका रूपमा चित्रित गरेका छन् । ‘यो लोकतन्त्रको मृत्युको संकेत हो, जनताको आवाज अब थुन्न सकिन्न,’ शर्माले भनेका छन् ।
गुटबन्दी, पुराना योगदानकर्तालाई कारबाही गर्ने प्रवृत्ति, पद बाँडफाँटमा योग्यता हैन गुटीय स्वार्थ हेर्ने मानसिकता, र पार्टी पदाधिकारीहरूको मौनता नेतृत्वको नैतिक पतन भएको उनले बताए । ‘आफ्नै पार्टीभित्र गलत देख्दा पनि महामन्त्री र पदाधिकारी मौन छन्, यो केवल लापरवाही हैन, देशप्रति विश्वासघात हो’ उनले भने ।
डा. शर्माले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, स्वतन्त्र न्यायपालिका, भ्रष्ट न्यायाधीशको बर्खास्ती, कार्यकारीमा दुई कार्यकालको सीमा जस्ता सुधारका एजेन्डाहरू तत्काल नलिइए देश ठूलो विद्रोहतर्फ जान सक्ने चेतावनी दिएका छन् ।
उनले पार्टीभित्र सुधारको संकेत देखिन नसकेको अवस्थामा वर्तमान कार्यकारी नेताहरूले पदको मोह त्यागी, नयाँ पुस्तालाई जिम्मेवारी दिने समय आएको बताएका छन् । ‘यदि आत्मसमीक्षा गरेर काँग्रेस सुधारको बाटोमा लाग्यो भने मात्रै अपजसको ढोका चिर्न सकिन्छ’ उनले भने ।
शर्माले नेतृत्वले सत्तालाई खेल सम्झिरहेसम्म देश उज्यालो नुहने पनि बताएका छन् । ‘जबसम्म नेतृत्वले जिम्मेवारीलाई सत्ताको खेल सम्झिरहन्छ, तबसम्म देश, समाज र पार्टी उज्यालोमा जान सक्दैन’ उनले भने ।








