सडकमा सक्रिय हुँदै ट्राफिक प्रहरी

काठमाडौँ । जेन जी पुस्ताको आन्दोलनपछि सडकमा कम मात्रामा देखिएका ट्राफिक प्रहरी क्रमशः सक्रिय हुँदै सेवा सुरु गरेका छन् ।

आन्दोलनका क्रममा अराजक समूहले ट्राफिक प्रहरीको सम्पूर्ण सामग्रीमा आगजनी र लुटपाट गरेपछि उनीहरू बिनाबर्दी काममा फर्किएका थिए ।

काठमाडौँ उपत्यकाको प्रमुख स्थानहरू बानेश्वर, कोटेश्वर, नारायणहिटी, पुतलीसडक, त्रिपुरेश्वर, रत्नपार्क लगायतका क्षेत्रहरूमा अब ट्राफिक प्रहरी बर्दीसहित देखिन थालेका छन् । आन्दोलनका दिन काठमाडौँका अधिकांश प्रहरी कार्यालयहरू तोडफोड भएका थिए । भाद्र २३ को प्रदर्शनमा प्रहरीले गोली चलाएका कारण १९ जनाको ज्यान गएको थियो ।

दोस्रो दिन आन्दोलनकारीले नेपाल प्रहरीलाई निशाना बनाइ प्रहरीमाथि कुटपिट, प्रहरी कार्यालयहरूमा आगजनी र तोडफोड गरे । सुरक्षार्थ खटिएका प्रहरीमाथिको निर्घात कुटपिट हुँदा तीन जना प्रहरी जवानले ज्यान समेत गुमाएका छन् । ट्राफिक प्रहरी पनि आन्दोलनको निशानामा परे ।

काठमाडौँ उपत्यकामा दिनप्रतिदिन बढ्दो सवारी चाप तथा सडक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीको भूमिका महत्त्वपूर्ण हुन्छ । प्रहरी फेरि बर्दीमै फर्कनु, राज्य संयन्त्र पुनः स्थिर हुँदै गएको सङ्केतका रूपमा लिइएको छ ।

ट्राफिक प्रहरीहरूको बर्दीसहित पुनरागमनले राजधानीको सडक सुरक्षातर्फको पहलमा आशा देखाएको छ । तर आन्दोलनले देखाएको सामाजिक असन्तोष, राज्यप्रतिको अविश्वास र हिंसात्मक प्रतिक्रिया अझै पूर्ण रूपमा साम्य भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =