प्रधानमन्त्री कार्कीले गरिन् डा.रुइतसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग सरकारमा सहभागिताको विषयमा छलफल गरेकी छिन् ।
प्रधानमन्त्री कार्की मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा. रुइतसँग भेट गरेकी हुन् । भेटका क्रममा उनले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले डा. रुइतजस्ता प्रतिष्ठित व्यक्तित्वको सहयोग आवश्यक रहेको भन्दै सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन् ।
प्रधानमन्त्रीको प्रस्तावमा डा. रुइतले सरकारलाई आवश्यक परे सल्लाह–सहयोग गर्न आफू तयार रहेको जनाए पनि सरकारमा प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने स्पष्ट पारेका छन् ।
उनले अस्पतालको दायित्व तथा बिरामीहरूको सेवामा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आफू चिकित्सकीय सेवामार्फत नागरिकको हितमा सक्रिय रहने बताएका छन् ।
जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा डा. रुइतलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर उनले पहिले नै आफू कुनै राजनीतिक पदमा जाने इच्छुक नरहेको जनाउँदै आएका थिए ।








