संविधान रक्षाको संकल्प गर्दै ‘संविधान दिवस मनाउन’ एमालेको आह्वान

काठमाडौं । नेपालको संविधान २०७२ जारी भएको ऐतिहासिक दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउन नेकपा (एमाले) मधेश प्रदेश कमिटीले विशेष आह्वान गरेको छ । कमिटीले आज एक विज्ञप्ति जारी गर्दै संविधान दिवसलाई भव्यताका साथ मनाउन मातहतका सबै कमिटी, जनवर्गीय संगठन तथा जनसमुदायमा आग्रह गरेको हो ।
मधेश प्रदेश कमिटीका अध्यक्ष कमरेड चन्द्रशेखर मण्डलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७२/०६/०३ को ऐतिहासिक जनआन्दोलनको जगमा गठन भएको ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको हो । संविधानसभाको पहिलो बैठकबाट मुलुक लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको हो । नेपालको संविधान २०७२ बाट नै नेपाली जनता पूर्णतः सार्वभौमसत्ता सम्पन्न भएका हुन् । संघीयता र समावेशी लोकतन्त्रको आधारशिला पनि यही संविधान हो।’
विज्ञप्तिमा थप उल्लेख गरिएको छ, ‘संविधान जारी भएको असोज ३ गतेको दिनलाई संविधान दिवसका रूपमा राज्यस्तरमा विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । हाम्रो पार्टीले पनि उक्त दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै आएको छ।’
मधेश प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक परिस्थितिबारे पनि विज्ञप्तिमा चर्चा गरिएको छ । ‘भदौ २२ र २४ मा घटेका दुःखद घटनाका कारणले राजनीतिक परिस्थिति असहज बन्न पुगेको छ । आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउने सुनियोजित षड्यन्त्रहरू भइरहेका छन् । यसको माग र चाहना विपरीत मुलुकलाई प्रतिगमनतिर धकेल्ने प्रयत्न भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि असोज ३ गतेका दिन संविधान दिवसको कार्यक्रम पार्टीका तर्फबाट सबै जिल्लाहरूमा भव्यतापूर्वक मनाउने । जिल्लामा रहेका राजनीतिक दलहरूसँग सहकार्य गरी संविधान दिवस भव्यताका साथ मनाउने सो वातावरण तयार नभएमा सबै जिल्लामा जिल्ला पार्टी कार्यालयमा वा उपयुक्त उपस्थित गराई मनाउने ।’
कमिटीले सबै जनसंगठनहरू, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका वार्ड, कमिटीहरूले आफ्नो ठाउँमा मनाउने सोको फोटो भिडियो समेत केन्द्रीय र प्रदेश पार्टी कार्यालयमा पठाउने निर्देशन दिएको छ । जिल्ला पार्टी कार्यालय, पार्टीका नेताहरूको निजी आवासमा छोटो भिडिओ बनाउन र सो कार्यक्रम संलग्न प्रवाहित व्यक्तिहरूको पहिचान गराएर नाम र पार्टी विपरीत अभिव्यक्त दिएका कमरेडहरूको नामसहित उल्लेख गरी असोज १ गतेसम्म प्रदेश पार्टी कार्यालयमा पठाउने निर्देशन पनि दिएको छ ।









