भारतीयले पाकिस्तानी खेलाडीसँग हात मिलाउन नमानेपछि…

काठमाडौं । गत अप्रिलमा दुई देशबीचको द्वन्द्व चर्किएयता पहिलोपटक आमने सामने भएका भारतीय र पाकिस्तानी क्रिकेट खेलाडीहरूबीच दुबईमा सम्पन्न एसिया कपको खेलमा हात नमिलाएको घटनाले नयाँ तरंग ल्याएको छ ।
पाकिस्तानका प्रशिक्षक माइक हेसनका अनुसार भारतले सात विकेटको प्रभावशाली जित हासिल गरेपछि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाउन अस्वीकार गरेका थिए । खेल सकिएलगत्तै सामान्यतया दुवै टोलीका खेलाडीहरूले एकआपसमा हात मिलाएर सौहार्दपूर्ण सम्बन्ध प्रदर्शन गर्ने चलन भए पनि, भारतीय कप्तान सूर्यकुमार यादव र ब्याटिङ साझेदार शिवम दुबेले तत्कालै मैदान छाडे ।
यसपछि पाकिस्तानी खेलाडीहरू मैदानबाट बाहिरिँदा भारतीय खेलाडीहरू ‘डगआउट’ हुँदै ड्रेसिङ रुममा फर्किसकेका थिए । हेसनका अनुसार भारतीय कप्तान सूर्यकुमार यादवले टस जितेकोमा पाकिस्तानी कप्तान सलमान अली आगालाई बधाई समेत नदिएको गुनासो गरेका छन् । ‘स्वाभाविक रूपमा हामी खेलको अन्त्यमा हात मिलाउन तयार थियौं,’ न्युजिल्यान्डका हेसनले भने, ‘हाम्रा प्रतिस्पर्धीले त्यसो नगरेकामा हामी निराश भयौं ।’
खेलपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान सूर्यकुमार यादवले उक्त जितलाई ‘भारतले लैजाने उत्तम उपहार’ भन्दै व्याख्या गरेका थिए । उनले थपे, ‘हामी आतंकवादी हमलाका पीडितहरू र परिवारका साथमा छौं र हाम्रो ऐक्यबद्धता प्रस्तुत गर्छौं । हामी आजको जित निकै बहादुरी प्रस्तुत गरेका हाम्रा सबै सशस्त्र बलहरूलाई समर्पित गर्न चाहन्छौं ।’ यसमा कुनै पनि पाकिस्तानी खेलाडीले टिप्पणी गरेनन् ।
यो घटना गत अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाम नजिकै पर्यटकहरूमाथि भएको घातक आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच चलेको चारदिने सैन्य द्वन्द्वको पृष्ठभूमिसँग जोडिएको छ । भारतले उक्त हमलाका लागि पाकिस्तानलाई दोष लगाएको थियो, जसलाई पाकिस्तानले अस्वीकार गर्दै आएको छ । त्यसपछि भारतले पाकिस्तान एवं पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि पाकिस्तानले जवाफी क्षेप्यास्त्र प्रहार गरेको थियो । दशकौँमा भएका सबैभन्दा खराब सैन्य भिडन्तमध्ये एकमा परेर दर्जनौं मानिसहरू मारिएका थिए ।
यस घटनापछि दुई छिमेकी देशहरूबीच विश्व स्तरका प्रतिस्पर्धाबाहेक अन्य कुनै पनि क्रिकेटमा एकअर्कासँग खेलेका छैनन् । एसिया कप रद्द गर्न वा खेल बहिष्कार गर्न आह्वान गरिएपछि पनि यो खेल अघि बढेको थियो । यदि दुवै टोली अघिल्ला चरणमा पुग्न सकेमा यस एसिया कपमा भारत र पाकिस्तान पुनः आमने सामने हुन सक्ने सम्भावना रहेको छ । -बीबीसी








