तोडफोड र आगजनीमा संलग्नलाई छाड्दैनौं : माओवादी केन्द्र

काठमाडौं । गत भदौ २४ गते देशका विभिन्न स्थानमा भएका तोडफोड र आगजनीका घटनामा आफ्ना कार्यकर्ताको संलग्नता पाइएमा सख्त कारबाही गर्ने प्रतिबद्धता नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले तथ्य र प्रमाणका आधारमा दोषी ठहरिने जो कोहीलाई पनि सरकारले कारबाही गरोस् भन्ने आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौं । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं ।’
माओवादी केन्द्रले केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति भने गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले यसलाई आधारहीन हल्ला भन्दै यस्ता दुष्प्रचारबाट भ्रममा नपर्न आम जनसमुदायमा हार्दिक अपिल गरेको छ । ‘यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउने प्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
माओवादी केन्द्रले जेनजी पुस्ताले उठाएको आन्दोलनमा प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरू घुसेर विध्वंस मच्चाएको आरोप लगाएको छ । यी घटनामा माओवादी केन्द्रका पार्टी कार्यालयहरू, अध्यक्ष प्रचण्ड लगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी र तोडफोड भएको पार्टीले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भर्त्सना गर्दछ। यसले आन्दोलनको मूल उद्देश्य र छविलाई नै धुमिल बनाएको छ ।’
माओवादी केन्द्रले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ । पार्टीले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्दै लोकतान्त्रिक मूल्यमान्यता विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।








