दिनभर कुर्दा पनि प्रधानमन्त्रीसँग भेट पाएनन्, राति बालुवाटारमा जेनजी सहिद परिवारको धर्ना

काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवारले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले यसअघि मौखिक प्रतिबद्धता जनाए पनि आफ्ना मागहरू पूरा नगरेको र दिनभर कुराएर भेटसमेत नदिई बालुवाटारबाट निकालेको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।
आइतबार बिहान ८ बजेदेखि नै प्रधानमन्त्रीको आमन्त्रणमा बालुवाटार पुगेका सहिद परिवारले रातको १० बजेसम्म पनि प्रधानमन्त्रीसँग भेट्न पाएनन् । लामो प्रतीक्षापछि सेनाले उनीहरूलाई बालुवाटारबाट बाहिर निकालेपछि उनीहरूले प्रधानमन्त्री निवासको गेटमा धर्ना दिएका थिए । सहिद परिवारले प्रधानमन्त्री कार्की सत्ताको खेलमा मात्रै लागेको र आफूहरूलाई पूर्णतः बेवास्ता गरेको गुनासो गरेका छन् ।
जेनजी समूहको नेतृत्व गरिरहेका सुधन गुरुङ आफ्नो टिमसहित सहिद परिवारका कुरा बालुवाटारभित्र पुर्याउने प्रयास गरे पनि सफल भएनन् । धर्नामा सहभागी सहिद परिवारका सदस्य कमल सुवेदीले आक्रोश व्यक्त गर्दै भने, ‘हिजो हामीलाई तपाईंहरूको सम्पूर्ण माग पूरा हुन्छ, बिहान ९ बजे आउनु भन्नुभएको थियो । दिनभर झुलाइदिए । हुन्छ हुन्छ भनेर बालुवाटारमा कुराएर राखे । १० बजे राति निस्केर जाउ भने ।’
सुवेदीले प्रधानमन्त्रीले सहिद परिवारको भावनासँग खेलबाड गरेको आरोप लगाए । ‘बिहान ८ बजे नै आयौँ । कुरायो कुरायो । सपथ ग्रहण छ भनेर कुरायो । दिउँसो मागहरू सिंहदरबारमा दर्ता गराएर आउनु भन्यो । हामी दर्ता गराएर आयौँ । गर्दा गर्दा रात पर्यो । ८ बज्यो । आजै निर्णय हुन्छ । प्रधानमन्त्री निवासको कार्यकक्ष बाहिर कुरेको कुर्यै भयौँ । मन्त्री बनाए कि के गरे अर्को गेटमा निस्किए । उताबाट गए। १० बजिसकेपछि आर्मीले यहाँ बस्न मिल्दैन भन्यो । हाम्रो माग पनि सम्बोधन भएन, त्यसरी बाहिर निकालियो,’ उनले थपे ।
सहिद परिवारका पाँच मुख्य मागहरू:
१. मृतकलाई राष्ट्रिय सहिद घोषणा र राजकीय सम्मान: जेनजी आन्दोलनका मृतकहरूलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने र उनीहरूको राजकीय अन्त्येष्टि तथा शवयात्राको व्यवस्था गरिनुपर्ने ।
२. उचित क्षतिपूर्ति र परिवारका लागि प्रबन्ध: सहिद परिवारलाई उचित क्षतिपूर्ति, रोजगारी, बीमा र शिक्षाको प्रबन्ध गरिनुपर्ने ।
३. सहिद परिवारको प्रतिनिधित्व: अब बन्ने विभिन्न समितिहरूमा सहिद परिवारको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने ।
४. विमानस्थलमा सम्मान: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका सार्वजनिक स्थलहरूमा सहिदहरूको फोटो राखेर उनीहरूप्रति सम्मान व्यक्त गरिनुपर्ने ।
५. सहिद पार्कको स्थापना: सहिदहरूको सम्झनामा शालिकसहितको एउटा सहिद पार्क निर्माण गरिनुपर्ने ।
प्रधानमन्त्री कार्कीले शनिबार सहिद परिवारसँगको भेटमा यी मागहरू सम्बोधन गर्ने मौखिक प्रतिबद्धता जनाएकी थिइन् । तर आइतबार बालुवाटारमा दिनभर कुराएर पनि भेट नदिएको र मागहरू सम्बोधन नभएको भन्दै परिवारजन आक्रोशित बनेका छन् ।
मध्यराति धर्ना अन्त्य गरेर घर फर्किएका सहिद परिवारले सोमबार बिहानै पुनः बालुवाटार आउने बताएका छन् । प्रधानमन्त्रीले आफ्ना मागहरू सम्बोधन नगरे थप कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने उनीहरूको चेतावनी छ ।








